बुधबार, वैशाख १९, २०८१
10:42 | १५:२७

इंग्ल्याण्ड नेपाल ऐतिहासिक फुटबल खेल सफलताका लागि राजदूतले दिए शुभकामना (भिडियो)

नेपाली लिङ्क अप्रिल ५, २०२४

लन्डन- बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मे ६ मा इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय टिमबीच पहिलोपटक हुन लागेको ऐतिहासिक फुटबल खेल सफलताका लागि शुभकामना दिएका छन् ।

राजदूत आचार्यले एक भिडियोमार्फत शुभकामना व्यक्त गर्दै सबैको सहभागिताका साथ उक्त ऐतिहासिक फुटबल खेल सफलतापूर्वक सम्पन्न हुनेमा पूर्ण विश्वस्त रहेको उल्लेख गरेका छन् ।

‘अल्डरसट टाउन फुटबल क्लवले धेरै संघसंस्थाको सहयोगमा आगामी मे ६ तारिखका दिन नेपाली फुटबल टिम र इंग्ल्याण्ड सी टिमबीच ऐतिहासिक फुटबल खेल आयोजना गर्ने भइरहेको छ । त्यस्तो फुटबल खेलमा धेरैको सहभागिता भएमा त्यसले जनस्तरमा आपसी सद्भाव बढाउन र फुटबल क्षेत्रमा द्विपक्षीय सहयोग अझ अभिवृद्धि गर्न पनि मद्दत पुरयाउंछ भन्ने मैले ठानेको छु’- उनले भनेका छन् ।

नेपाल र बेलायतबीच आधिकारिक रुपमा आपसी हितका विभिन्न क्षेत्रमा सहयोग र सहकार्य भइरहेका उल्लेख गर्दै राजदूत आचार्यले दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्ध केही दशकयता जनस्तरमा अझ विस्तृत र व्यापक हुंदै गइरहेको समेत स्मरण गरेका छन् ।

‘यसले बेलायतमा नेपालप्रति सद्भाव र नेपालीको पहिचान प्रवर्धन गर्न मद्दत पुरयाएको छ । जनस्तरको सम्बन्ध अझ सुदृढ र व्यापक बनाउने विषयमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ । अझ भन्ने नै हो भने बेलायत जस्तो मुलुकमा यसले विशेष महत्व राख्दछ’, उनले भनेका छन् ।

राजदूत आचार्यले हालै आयोजक समितिका पदाधिकारीसंग दूतावासमा भएको छलफलमा समेत आफ्नो तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।

बेलायतमा सबैभन्दा धेरै नेपालीको बसोबास रहेको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा हुन लागेको उक्त खेल सफल बनाउन यहांको नेपाली समुदाय पनि एकवद्ध भएर जुटेको छ ।

अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिमले नेपाली दर्शकहरुलाई म्याच हेर्न आउन अपिल गरेका छन् ।

हेरौं राजदूत आचार्यको शुभकामना भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू