बुधबार, वैशाख १९, २०८१
13:48 | १८:३३

बेलायतमा महंगी बढ्यो, न्यूनतम ज्याला र ग्याँस-बिजुली बिलमा राहत

नेपाली लिङ्क अप्रिल ४, २०२४


लन्डन – बेलायतमा बढ्दो महँगीको मार खेपेका जनतालाई ग्याँस र बिजुली बिलमा भने यही अप्रिलबाट केही राहत मिल्ने भएको छ । 

विगत दुई वर्षको तुलनामा ग्याँस र बिजुलीको बिलमा पहिलोपटक कटौती भएको हो, जसका कारण ग्राहकहरुले वार्षिक २३८ पाउण्ड अर्थात मासिक २० पाउण्ड बराबरको राहत पाउनेछन् । 

यसबाट इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका करिब २९ मिलियन मानिस लाभान्वित हुनेछन् । तर, उत्तरी आयरल्याण्डको भने नियम फरक छ, यद्यपि त्यहाँ पनि ग्याँस र बिजुली बिल कटौती गरिएको छ ।

ग्याँस र बिजुलीको बिलमा राहत पाएका यहाँका जनता अन्य थुप्रै बिल भुक्तानीको मारमा भने परेका छन् । ब्रोडब्याण्ड र मोबाइल फोनको बिलमा ८.८ प्रतिशतले बृद्दि हुने भएको छ । खानेपानी बिलमा पनि इंग्ल्याण्ड र वेल्समा ६ प्रतिशत र स्कटल्याण्डमा ८.८ प्रतिशतले बढ्ने छ ।

काउन्सिल ट्याक्समा पनि स्कटल्याण्डबाहेकका क्षेत्रमा ५ प्रतिशतले वृद्धि गरिएको छ । स्कटल्याण्डमा भने सन् २०२५ सम्म स्थिर राखिएको छ । 

विगत दुई वर्षदेखि स्थिर रहेको टिभी लाइसेन्समा पनि ६.६ प्रतिशतले वृद्धि गरेर वार्षिक १६९.५० पुर्याइएको छ । तर ७५ वर्ष माथिकालाई छुट गरिएको छ भने अन्य केही वर्गका मानिसलाई छुट सुविधा प्रदान गरिएको छ। 

यसैगरी सवारी धनीले तिर्दै आएको ट्याक्समा पनि वृद्धि गरिएको छ । एनएचएस डेन्टल शुल्कमा पनि ४ प्रतिशतले वृद्धि गरेर २६.८० पाउण्ड  निर्धारण गरिएको छ ।

बेलायतमा महंगी बढेसंगै यही अप्रिलदेखि लागू राष्ट्रिय न्यूनतम ज्याला प्रतिघण्टा १० प्रतिशतले बढाएर  ११.४४ पाउण्ड कायम गरिएको छ, जुन यसअघि १०.४२ पाउण्ड थियो । यो वृद्धिसंगै न्यूनतम ज्यालामा काम गर्नेहरुले वार्षिक एक हजार ८०० पाउण्ड  बढी पाउनेछन् । 

न्यूनतम ज्याला उमेर हद अनुसार फरक फरक निर्धारण गरिएको छ । बेलायतमा १० प्रतिशत अर्थात १६ लाखले न्यूनतम ज्यालामा काम गर्छन् । 

यसैगरी, राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १६ देखि ६४ वर्षसम्मका करिब ९२ लाखमध्ये २१.८ प्रतिशत अर्थात ५ जनामध्ये एक जनाले काम नगरेको वा काम नखोजेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू