मंगलबार, वैशाख १८, २०८१
20:18 | ०१:०३

बेलायतवासी नेपालीलाई खेल हेर्न आउन अल्डरसट एफसी अध्यक्षको अपील (भिडियो)

नेपाली लिङ्क अप्रिल २, २०२४

लन्डन- नेपालले आगामी महिना इंग्ल्याण्डसँग पहिलोपटक ऐतिहासिक फुटबल खेल्दैछ । बेलायतमा सबैभन्दा धेरै नेपालीको बसोबास रहेको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा नेपालको राष्ट्रिय टीमले खेल्नेछ।

पहिलोपटक बेलायत आउन लागेको नेपाली टोलीले मे ६ तारिख इंग्ल्याण्ड सीसँग खेल्ने तय भएको छ ।

नेपाल र इंग्ल्यान्डबीचको पहिलो ऐतिहासिक फुटबल सम्भव बनाउन प्रमुख भूमिका खेलेका अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिमसँग नेपालीलिंकले गरेको संक्षिप्त संवाद: (भिडियो संवाद तल)

तपाईंको पहलमा नेपालको राष्ट्रिय टीम इंग्ल्याण्डसँग ऐतिहासिक फुटबल खेल्न आउंदैछ। यहाँको नेपाली समुदायलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

बेलायतको नेपाली समुदायलाई, यहाँका सबै नेपाली दिदीबहिनी, दाजुभाइ र स-साना बालबालिकाहरुलाई पनि मेरो अपील यहि छ कि हामीसामु यतिबेला एउटा ऐतिहासिक अवसर छ । इतिहासमै पहिलोपटक हामीले नेपालको राष्ट्रिय टीमलाई फुटबल खेल्नका लागि इंग्ल्याण्ड ल्याउंदैछौ । आगामी मे ६ तारिखका दिन अल्डरसटमा ।  

मेरो नेपाली समुदायलाई अपील छ कि तपाईंहरु आउनुहोस् र आफ्नो राष्ट्रिय टोलीलाई समर्थन गर्नुहोस् ।  

तपाईंलाई थाहा छ उनीहरु इंग्ल्याण्ड आउन लागेको पहिलोपटक हो । त्यसकारण यहाँ उनीहरुलाई ठूलो समर्थन देखाउन र स्वागत पाएको महसुश गराउन निकै राम्रो हुन्छ ।   त्यो दिन सबैले आनन्द लिन सक्ने वातावरण बनाउन, हामी सबै नेपालको लागि कति धेरै गौरव गर्छौ भन्ने देखाउन र यसलाई वास्तवमै ठूलो अवसर बनाउनका लागि सहयोग गर्नुहुन म सबैलाई आग्रह गर्दछु।  

यो इभेन्ट सफल पार्न बेलायतमा बस्ने नेपाली समुदायले कसरी सहयोग गर्न सक्छन् ? 

यो इभेन्ट सफल बनाउन बेलायतमा रहेका नेपाली र यहाँको समुदायले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कार्य नै यहाँ आएर आफ्नो राष्ट्रिय टीमलाई समर्थन देखाउनु हो। फुटबलको सुरुवात् भएको ‘होम अफ फुटबल’ मानिने इंग्ल्याण्डमा आएर उनीहरु पहिलोपटक खेल्दैछन् । यो नेपालको राष्ट्रिय टीम र इंग्ल्याण्डको राष्ट्रिय सी टीमबीचको आधिकारिक खेल हो । उनीहरु यहाँ पूरै एक साता रहनेछन् । यो कुरा निकै महत्वपूर्ण छ कि बेलायतमा बस्ने नेपालीहरु खेल हेर्न आउनेछन् र आफ्नो राष्ट्रिय टीमलाई समर्थन गर्नेछन्।

नेपाल टीमलाई ल्याउने, इंग्ल्याण्डसँग खेलाउने सोच कसरी आयो ? के छ यसको पछाडि मुख्य उद्धेश्य ? 

हामीसँग यहाँ विशाल नेपाली समुदाय छ। फुटबलप्रतिको ठूलो चासो पनि छ । हामीले अल्डरसट टाउन फुटबल क्लबको एकेडेमी टीमलाई सन् २०१४ मा एभरेष्ट कप खेल्न नेपाल लगेका थियौँ । उनीहरुले त्यहाँ अत्यन्तै राम्रो समय बिताए । तपाईंलाई थाहा छ नेपालीहरु फुटबलप्रति निकै शौखिन छन्। अनि हामीले सोच्यौं कि नेपालको राष्ट्रिय टीमलाई इंग्ल्याण्ड ल्याएर, त्यसमाथि विशाल नेपाली समुदाय रहेको र सयौँ वर्षदेखि गोर्खा रेजिमेन्ट रहंदै आएको अल्डरसटमा खेलाउन सक्यौं भने राम्रो हुन्न होला त ? फेरि पनि यो समुदायहरुलाई एकसाथमा ल्याउने उद्धेश्य हो । त्यसका लागि नेपालको राष्ट्रिय टीमलाई ल्याएर अल्डरसटमा खेलाउनुभन्दा बढी उत्तम सोच अरु केही हुन सक्ला र ? 

यो ऐतिहासिक खेलको अवसरबाट नेपाल र नेपाली खेलाडीहरुले लिन सक्ने प्रमुख लाभहरु के हुन सक्छन् ? 

मलाई लाग्छ कि नेपाली खेलाडी र व्यवस्थापनले लिन सक्ने सबैभन्दा ठूलो लाभ नै यहाँबाट पाउने अनुभव हो । उनीहरुले यहाँको सिस्टम देख्न सक्छन्। यहाँ कसरी कामहरु हुन्छन्, प्रशिक्षण कसरी गरिन्छ भन्ने जस्ता कुरा हेर्न पाउंछन् । त्यस्तै, यो उनीहरुलाई अत्यन्तै प्रतिस्पर्धात्मक खेल खेल्ने अवसर पनि हो। तर अझै महत्वपूर्ण कुरा यो छ कि केही नेपाली खेलाडीहरुले पनि यहाँको हाम्रै लेभलको खेल खेल्न सक्छन् कि भनेर हेर्ने अवसर समेत छ। म आशा गर्छु भोलि अल्डरसट टाउन फुटबल क्लबकै लागि कुनै नेपाली खेलाडीले खेलोस्। जसले गर्दा यहाँ धेरै नेपाली दर्शक पनि आकर्षित हुन सकुन्।  

इंग्ल्यान्ड र नेपालबीच फुटबल सम्बन्ध शुरु हुँदैछ। यसलाई भविष्यमा बिस्तार गर्दै जाने अरु केही योजना पनि छन् कि ? 

भविष्यको योजना यो छ कि यदि अहिलेको इभेन्ट सफल भयो भने, जुन मलाई सफल हुन्छ भन्ने पूरा विश्वास छ किनकी नेपाली समुदाय आएर आफ्नो टीमलाई पक्कै समर्थन गर्ने नै छ । त्यसपछि हाम्रो सोच इंग्ल्याण्ड सी टीमलाई पनि नेपाल लगेर खेलाउनु छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू