बुधबार, वैशाख १९, २०८१
07:14 | ११:५९

डुंगा चढेर गैरकानूनी रुपमा बेलायत भित्रिए ५ हजार बढी विदेशी

नेपाली लिङ्क अप्रिल १, २०२४

तस्बिर- एएफपी

लन्डन । यतिखेर अध्यागमन नियन्त्रणमा बेलायत सरकार आक्रामक भइरहंदा गैर कानूनी रुपमा यहां भित्रने आप्रवासी संख्या भने बढिरहेको पाइएको छ ।

सन् २०२४ का पहिलो तीन महिनामा मात्र इंगलिस च्यानल पार गरेर ५ हजारबढी गैर कानूनी आप्रवासी बेलायत छिरेको तथ्यांक सार्वजनिक भएको छ ।

होम अफिसका अनुसार, मार्च महिनाको अन्तिम दुईदिनमा मात्र गैर कानूनी बाटोबाट बेलायत छिर्ने आप्रवासीको संख्या ७९१ छ ।

जनवरीदेखि मार्चसम्म त्यस्तो बाटो भएर भित्रने ‘इलिगल’ आप्रवासीको संख्या ५ हजार ४ सय ३५ पुगेको छ ।

अघिल्लो वर्ष सन् २०२३ को पहिलो तीन महिनामा यसरी बेलायत भित्रने आप्रवासीको संख्या ३ हजार ७ सय ९३ थियो भने सन् २०२२ को सोही अवधिमा ४ हजार ५ सय ४८ गैर कानूनी आप्रवासी बेलायत भित्रिएका थिए ।

होम अफिसका एक प्रवक्ताले गैर कानूनी आप्रवासीहरुको पछिल्लो अवस्थाले शरणार्थीलाई रुवान्डा पठाउने बेलायत सरकारको नयां नीतिको औचित्य पुष्टि गरेको बीबीसीसंग बताएका छन् ।

वर्तमान प्रधानमन्त्री ऋषि सुनकले आफ्नो ५ उच्च प्राथमिकतामध्ये डुंगाबाट इंगलिस च्यानल भएर गैर कानूनी रुपमा बेलायत छिर्ने क्रम नियन्त्रण गर्ने पनि एक प्रमुख थियो ।

होम अफिसका अधिकारीहरुले फ्रेन्च प्रहरीसंग सहकार्य गरि यस्तो कार्य नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू