मंगलबार, वैशाख १८, २०८१
21:36 | ०२:२१

लन्डनका साहित्यकार बजगाईंका दुई कृति एकैसाथ विमोचित

नेपाली लिङ्क मार्च ३०, २०२४

काठमाडौँ, १७ चैत- लन्डनका साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रा सङ्ग्रह) आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । 

लिभरपुल युनिभर्सिटी हस्पिटलका डा. शम्भु आचार्य, साहित्यकार प्रा डा लक्ष्मणप्रसाद गौतम, प्रा डा लेखप्रसाद निरौला, डा फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गरेका हुन् ।

आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रीस र पोर्चुगलका २७ वटा यात्रानुभूति समावेश गरिएका छन् । उनको लघुकथा सङ्ग्रहमा ६१ कथा समावेश छन् ।

हाल बेलायत बस्दै आएका साहित्यकार बजगाईंका हालसम्म १८ कृति प्रकाशित भइसकेका छन् । 

कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह पारिवारिक भ्रमणको सँगालोमा आधारित रहेको बताए ।

उनले भने, ‘उहाँको यो पाँचौँ नियात्रा कृति हो । यो रोचक र महत्वपूर्ण छ । यसमा उहाँले विभिन्न देशका भ्रमणयात्रा समेट्नुभएको छ । साँस्कृतिक उत्खनन पनि भेटिन्छ ।’

समीक्षात्मक टिप्पणी गर्दै प्रा डा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताए । उनले भने, ‘उहाँको नियात्राले ऐतिहासिक उत्खनन गरेको हुन्छ । नियात्रा पढ्दा लाग्छ उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ । उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ ।’

बजगाईंका यसअघि ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’ लगायत लघुकथा सङ्ग्रह र ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत नियात्रा सङग्रह प्रकाशित भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू