शनिबार, वैशाख १५, २०८१
10:42 | १५:२७

त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकियो, अर्कोपटक फेरि हुने

नेपाली लिङ्क मार्च २७, २०२४

लन्डन- लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकिएको छ। 

भूतपूर्व गोर्खाहरुको माग सम्बोधन गर्न विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरिय वार्ता मुख्य गरि पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् ।  

‘हाम्रो तर्फबाट भूतपूर्व गोर्खाहरुको समान पेन्सनबारे डिटेल्स कुरा भयो’, दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपालीलिंकलाई बताइन्-‘यस अघि पेन्सनमा आज जस्तो विस्तृत छलफल भएको थिएन । बेलायती पक्षले आन्तरिक छलफल पछि फेरि अर्को वार्ता गर्ने भनेको छ ।’

वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रमुख मुद्दा पेन्सनमा घनिभूत छलफल भएकोले आउँदो वार्तामा यसले निर्णायक बाटो लिने आशा गरिएको प्रतिक्रिया दिए ।  

अनसनकर्ता ज्ञानराज राईले राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल सरकार र गोर्खाहरुको तर्फबाट तार्किक रुपमा राखेको र अर्को पटक वार्ता सफल हुने विश्वास व्यक्त गरे ।

‘बेलायती मन्त्री विषयवस्तुभन्दा बाहिर जान खोजेपनि महामहिमज्यूले सशक्त रुपमा हाम्रा कुरा राखिदिनु भएको छ । आशा छ अर्को पटक बेलायत भाग्न सक्दैन’ राईले भने । 

वार्तामा सहभागी गेसो उपसभापति धर्म तामाङले वार्ता उपलब्धिपूर्ण नबनेको तर छलफल निरन्तर राख्ने सहमति भएको बताए ।  

‘आज पूरै पेन्सनकै मुद्धामा मात्र कुरा भयो। तर बेलायती मन्त्रीले समान पेन्सनमा जान सकिन्न भन्ने आफ्नो अडान अन्तिमसम्म पनि छोडेनन्’, तामाङले नेपालीलिंकसँग भने, ‘कानूनी जटिलताले मिल्दैन भन्ने बेलायती पक्षको भनाइ छ ।तर नेपालका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले स्पष्ट अडानसहित नयाँ द्विपक्षीय सम्झौतामा गएर भएपनि निकास खोजौं भन्ने प्रस्ताव गर्नुभएको छ।’


उक्त वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसनलगायत कर्मचारी सहभागी भएका थिए।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिएका थिए ।

यसैबीच, बेलायती रक्षा मन्त्रालयभित्र वार्ता चलिरहंदा बाहिर भने गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

तस्बिर शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू