शनिबार, वैशाख १५, २०८१
10:45 | १५:३०

भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराउने लियो बने आर्मड् फोर्सेस मन्त्री

नेपाली लिङ्क मार्च २६, २०२४

लन्डन । गत अगष्ट २०२१ मा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टीले आर्मड् फोर्सेस मन्त्रीको जिम्मेवारी पाएका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो मन्त्रीपरिषद हेरफेर गर्न वाध्य पार्दै दुई मन्त्रीले मंगलबार राजिनामा दिएपछि एउटा पदमा अल्डरसट क्षेत्रका सांसद तथा पूर्व सैनिक लियोले आर्मड् फोर्सेस मन्त्री बन्ने अवसर पाएका हुन् । ल्यूक हल शिक्षा मन्त्री बनेका छन् ।

लियो झण्डै अढाइ वर्षअघि गोर्खाहरुको आमरण अनसन तोड्ने मन्त्री पनि हुन् जुनबेला उनी भेट्रान मिनिष्टर थिए ।

त्यही बेला बेलायतले गोर्खा मुद्दा सम्बोधनका लागि वार्ता गर्ने प्रतिवद्धता गरेपछि भोक हड्ताल अन्त्य भएको थियो । मन्त्री लियोले जुस ख्वाएर ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणाको १३ दिने अनसन समापन गरेका थिए ।

सोही बेला मन्त्री लियोले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक समझदारीपत्र हस्तान्तरण गरेका थिए जसमा वार्ताद्वारा भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्ने प्रतिवद्धता थियो ।

त्रिपक्षीय वार्ताको एक दिन अघिमात्र लियो बेलायती रक्षा मन्त्रालय (एमओडी) अन्तर्गत आर्मड् फोर्सेस मन्त्री बनेका छन् ।

जेम्स् हेप्पीले उक्त पद छोड्ने आफ्नो अघिल्लो वाचा पुरा गरेसंगै लियो उक्त जिम्मेवारीमा आएका हुन् । विदेश राज्यमन्त्री भइसकेका लियो सन् २०१७ जुन देखि नेपालीहरु उल्लेख्य रहेको अल्डरसटबाट सांसद छन् । उनी नेपाली समुदायसंग निकट छन् ।

सन् २०१५ देखि सोमरसेटस्थित वेल्सको प्रतिनिधित्व गरेका हेप्पीले यस महिनाको सुरुमा सांसद र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

रोबर्ट हाफनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हाफन सन् २०१० देखि हार्लोको टोरी सांसद छन्।

उनीहरु दुवैजना यसै वर्ष हुने भनिएको आम निर्वाचनमा पुनः नउठ्ने भएका छन् । आउँदो चुनावमा नउठ्ने घोषणा गरेका ९८ सांसदमध्ये अधिकांश कन्जरभेटिभ पार्टीबाट छन् ।

पूर्व प्रधानमन्त्री टेरेसा मे, डोमिनिक राब जस्ता दिग्गजदेखि संसदमा नयां मानिएका डेहेना डेभिसन र निकोला रिचर्ड्सले पनि अब चुनावमा भाग नलिने बताइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू