सोमबार, वैशाख १७, २०८१
16:11 | २०:५६

गेसोले भेट्यो परराष्ट्रमन्त्री, समान पेन्सन माग सम्बोधनको अन्तिम मौका नगुमाउन अनुरोध

नेपाली लिङ्क मार्च २१, २०२४

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भूतपूर्व गोर्खाहरुको समान पेन्सन माग सम्बोधनको अन्तिम मौका नगुमाउन अनुरोध गरेको छ । 

बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा गेसो सभापति कृष्ण कुमार राई, निवर्तमान मन्त्री सुदन किराती सहितको प्रतिनिधिमन्डलले बिहीबार परराष्ट्रमन्त्री श्रेष्ठसंग भेट गरि भूतपूर्व गोर्खाहरुमाथि भएको असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्ने अन्तिम मौका नगुमाउन अनुरोध गरेको हो ।  

गेसोले विभिन्न चरणमा प्राविधिक कमिटी र बेलायत नेपाल सरकारबीच लण्डनमा भएका वार्ता ठोस निष्कर्षमा पुग्न नसकेको स्मरण गराउंदै आसन्न त्रिपक्षीय वार्ता अगाडि नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच छलफल गरि अन्तिम एजेन्डा पेश गर्न पनि अनुरोध गरेको छ ।

मन्त्री श्रेष्ठले यो गोर्खाहरुको मात्र समस्या नभएर राष्ट्रकै समस्या भएकाले गम्भीर रुपमा मनन गरि समाधान गर्न कुनै पहल बाँकी नराख्ने आश्वासन दिएको गेसोले बताएको छ । 

भेटघाटमा गेसो उपसभापति जित बहादुर राई, उपमहासचिवद्वय बुद्धिराज राई र मानबहादुर गुरुङ, माओवादी केन्द्रका युवा नेता वसन्त राई पनि सहभागी थिए ।  

उता गेसोले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई बेग्लै भेटेर बधाई दिंदै गोर्खा मुद्दाबारे ‘अपडेट’ गराएको छ ।

मन्त्री तामाङले आफ्नो तर्फबाट सहयोगको प्रतिवद्दता पनि व्यक्त गरेको गेसोले जनाएको छ ।

गत शुक्रबार पनि जीटेन समूहका प्रतिनिधिहरुले लन्डनस्थित नेपाली दूतावासमा झण्डै दुई घण्टा लामो बैठकमा बेलायतसमक्ष कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेका थिए ।

२७ मार्चको त्रिपक्षीय वार्तामा कसरी प्रस्तुत हुने र बेलायतले राखेका जिज्ञासामा कसरी तार्किक जवाफ दिने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

गेसोको विज्ञप्ति:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू