सोमबार, वैशाख १७, २०८१
08:22 | १३:०७

लन्डनमा पृथक बहससहित द गोर्खा सेन्टरले मनायो अन्तरराष्ट्रिय नारी दिवस

नेपाली लिङ्क मार्च १९, २०२४

लन्डन – ११४ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा द गोर्खा सेन्टरले एक अन्तरक्रिया तथा सांगीतिक प्रस्तुति आयोजना गरेको छ। अन्तरक्रियामा सहभागी वक्ताहरुले बेलायतमा कार्यरत आप्रवासी नेपाली महिला र नयाँ पुस्तालाई दृढ निस्चय र मेहनतका साथ नयाँ अवसर पछ्याउँदै अगाडी बढ्न सुझाव दिएका छन्।

उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै माया सपोर्टेड लिभिङ्ग लिमिटेडकी निर्देशक डा. रक्षा थापाले कडा मेहनत नै सफलताको सूत्र भएको बताइन्। ‘बेलायत जस्तो नियम कानून र परम्पराले बलियोसंग बाँधिएको मुलुकमा कानूनको पालना गर्नुका साथै उत्कृष्ट सेवा प्रदान गरेर मात्रै आफ्नो स्थान बनाउन सकिन्छ,” थापाले भनिन्-“तर त्यसको लागि परिवार र आफ्नै समुदायको पनि सहयोग र सद्भाव चाहिन्छ।”

गैर आवासीय नेपाली संघको युरोप क्षेत्र महिला संयोजक प्रसुना कंडेलले नेपाल बाहिर प्रवासमा संघर्ष गर्दै नेपाली महिलाले गरेको प्रगति प्रशंसनीय भएको बताइन्। नेप्लिज नर्सेज एसोसियसन युकेकी पूर्व अध्यक्ष पनि रहेकी उनले बेलायतमा कार्यरत नेपाली नर्सहरुले कडा मेहनत, अनुशासन र मिलनसार व्यवहारका कारण मौलिक पहिचान बनेको बताइन्। ‘युवा पुस्तालाई अगाडी बढ्न यहाँ धेरै अवसर उपलब्ध छन्’, उनले भनिन्।

ब्रिटिश प्रहरीमा कार्यरत नेपाली मूलकी पहिलो महिला प्रहरी पुष्पा सुनुवारले अनुशासन रुचाउने र समुदायको सेवा गर्न चाहने जो कोही पनि ब्रिटिश प्रहरीमा जान सक्ने बताइन्। उनले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायमा घरेलु हिंसाको समस्या देखेको भन्दै कुनै पनि किसिमको हिंसाको जानकारी पाउना साथ प्रहरीलाई खबर गर्न आग्रह गरिन्।

बेलायतमै जन्मिएकी तेश्रो पुस्ताकी युवा सुप्रिना थापाले प्रवासमा हुर्की रहेको पुस्ताले पहिचानको समस्या व्यहोरी रहेको बताइन्। बेलायतको एक प्रमुख संचार माध्यम स्काइ टीभीमा कार्यक्रम प्रस्तुत गर्ने सुश्री थापाले युवाहरुलाई आफ्नो ‘रुट्स’ (मूल थलो) नबिर्सन आग्रह पनि गरिन्।

हेजस्थित क्लेरेसियन ओएसिस सम्मेलन केन्द्रमा आयोजित ‘प्रवासमा नेपाली महिलाका चुनौती तथा अवसरहरू’ विषयक अन्तरक्रिया कार्यक्रम संचालन पत्रकार भगीरथ योगीले गरेका थिए।

आर्को मुखर्जीद्वारा रोचक प्रस्तुति

कार्यक्रमको दोश्रो चरणमा चर्चित भारतीय गायक आर्को मुखर्जीले लोकप्रिय नेपाली लोक गीतहरु सुनाएर दर्शकलाई नचाए । गायक मुखर्जीले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका ‘अल्लारे नानी केसी’ जस्ता कालजयी गीत सुनेका थिए। उनले स्व बुद्धि कृष्ण लामिछानेका ‘मेरी आमा रुंदी हुन् मलाई सम्झेर’ लगायतका पुराना गीत सुनाएका थिए । कार्यक्रममा उनलाई कनिष्का सरकार तथा सान्द्रा बीबीले साथ दिएका थिए।

उक्त कार्यक्रममा चर्चित शेफ बिनोद बरालको टोलीले मौलिक नेपाली खाना प्रस्तुत गरेका थिए । कार्यक्रमको खर्च कटाएर बचेको रकम बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको सहयोगका लागि खर्च गरिने द गोर्खा सेन्टरका सिइओ भीम तामाङले बताए।

सेन्टरकी ट्रष्टी सेक्रेटरी चाँदनी पटेलले सबैलाई स्वागत गरेकी थिइन्। द गोर्खा सेन्टरले बेलायतमा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरुलाई सघाउन एक ‘हेल्प डेस्क’ पनि स्थापना गरेको छ। सेन्टरले विद्यार्थी लगायत नेपाली तथा भूतपूर्व गोर्खा समुदायका मानिसहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श पनि दिंदै आएको छ।

गत डिसेम्बरमा द गोर्खा सेन्टरले आयोजना गरेको ‘मह जोडी युके टुर’ निकै सफल भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू