सोमबार, वैशाख १७, २०८१
09:39 | १४:२४

बेलायतको डोरसेटमा नेपालीले खोले चौंथो रेष्टुरेन्ट

नेपाली लिङ्क मार्च १९, २०२४

लन्डन । बेलायतको डोरसेटस्थित नेपाली व्यवस्थापनको एसियन रेष्टुरेन्ट ‘द २९०२९’ ले आफ्नो चौथो शाखा विस्तार गरेको छ । पार्कस्टोनमा नयां शाखा सञ्चालनमा आएको हो ।

भर्खरै मात्र सञ्चालनमा आएको उक्त रेष्टुरेन्टमा सोचेभन्दा बढी ग्राहकको भीड लाग्ने गरेकाले बुकिंग सिस्टम लागू गर्नुपरेको संचालकमध्येका एक उत्सव बिष्टले बताए ।

‘हालसम्म सञ्चालनमा आएका रेष्टुरेन्टका चारवटै शाखाहरु ग्राहकको रोजाइमा परेपछि हामी कम्तीमा दशवटा शाखा पुरयाउने लक्ष्यमा छौं’- बिष्टले भने ।

‘द ताज’ र ‘ओबेराय’ जस्ता लक्जरी होटलमा काम गरिसकेका सेफहरु रहेकाले नेपाली र भारतीय खाना उत्कृष्ट र स्वादिष्ट रहेको उनी बताउँछन् ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नामाकरण गरिएको उक्त रेष्टुरेन्ट पहिलोपटक सन् २०१४ देखि सञ्चालन भएको हो । ब्रोडस्टन शाखा सन् २०१७ मा खोलिएको थियो । उक्त रेष्टुरेन्टका वेरहाम र वीमवर्न शाखा पनि सञ्चालनमा छन् ।

करिब चार दर्जन कर्मचारी कार्यरत ‘द २९०२९’ मा प्रायजसो नेपाली र केही युरोपियन तथा भारतीय कार्यरत छन् ।

बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्येको एक डर्डल डोर नजिक रहेको उक्त रेष्टुरेन्टले ‘करी लाइफ अवार्ड २०२३’ मा वेष्ट रेष्टुरेन्ट अफ द इयरको अवार्ड समेत पाउन सफल भएको थियो ।

आफ्नो व्यवसाय बावजुद रेष्टुरेन्टले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । यसले कोभिड महामारीका बेला अस्पताल तथा सर्जरीमा निशुल्क खाना वितरण र अग्रमोर्चामा खटिएका एनएचएस स्टाफ र स्वास्थ्यकर्मीलाई रेष्टुरेन्टमा बोलाएर निशुल्क खाना खुवाएको थियो ।

डोरसेट क्षेत्रमा एसियन रेष्टुरेन्टमध्येकै प्रतिष्ठित मानिने यी रेष्टुरेन्टमा एसियन भन्दा ब्रिटिश ग्राहकहरुको बढी घुइंचो लाग्ने रेष्टुरेन्ट संचालक बताउंछन् । विशेषगरी छुट्टीको समयमा सबै किसिमका ग्राहक आउने गरे पनि अन्य दिनमा स्थानीय नागरिकहरु नै बढी आउने गरेको सञ्चालकले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू