सोमबार, वैशाख १७, २०८१
14:22 | १९:०७

लन्डनका अग्रज समाजसेवी केसीको कोशेलीः ईन्द्रायणीदेखि बेलायतसम्म

नेपाली लिङ्क मार्च १८, २०२४

लन्डन । लन्डनस्थित एक अग्रज समाजसेवी तथा साहित्यानुरागी ध्रुव केसीको स्मृति वृत्तान्त ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ बजारमा आएको छ ।

गत महिना काठमाडौंमा एक समारोहबीच लोकार्पण गरिएको ३६४ पृष्ठको उक्त कृतिमा लेखक केसीले ५ अध्यायभित्र ईन्द्रायणीको काखमा जन्म लिएर बेलायतसम्म आइपुग्दाको संघर्ष, उतारचढाव, पर्यटन प्रवर्धनमा आफ्नो तीन दशक लामो अभिरुची, रेष्टुरेन्ट व्यवसाय गर्दा र संघसंस्थाको आवद्धता अनुभव, राजपरिवारसंगको सामिप्यता, पदक तथा सम्मान आदिबारे चर्चा गरेका छन् ।

केसीले लन्डनस्थित नेपाली राजदूतहरु, राजदूतावास र यसका गतिविधि समेत समेटेका छन् । उनले ५० भन्दाबढी पेजमा ऐतिहासिक दुर्लभ तस्विरहरु पनि समावेश गरेका छन् । उनले आफ्नो आत्मकथामा दोश्रो बिहेदेखि प्रेममा डुबेको प्रसंग समेत बडो रोचक ढंगले उजागर गरेका छन्।

‘सामाजिक, पारिवारिक, देशप्रेमको भावना, मनमा छचल्किएका आंसु, हांसो, व्यथा र उमंगहरुको संगालो हो यो सृजना’, कवि समेत रहेका केसी भन्छन् ।

उनकै शब्दमा-

कर्मभूमिमा आधा शताब्दी दुःख सुःख उकाली ओरोली गर्दै
अवकासपछि कोर्दैछु, हिजोलाई आज उजागर गर्दै

किताब लेख्ने इच्छा पहिलेदेखि नै थियो, शुरु गरें अहिले
परमात्मालाई तम् शरणम् भनी कलम समातें मैले

आदर्शपूर्ण उपदेशिक भित्र नपर्ला मेरो यो तृष्णा,
काल्पनिक श्रृंगार बाहिरको छ यो वास्तविक मेरो सृजना

मेरो मनको आंगनमा छचल्किएका साधना
सामाजिक, पारिवारिक देशप्रेमको भावना

आंशु, हांसो, व्यथा र उमंगहरुको संगालो
यो हो मेरो अहिलेसम्मको सुःख दुःखको भंगालो ।

४४ वर्षदेखि गर्दै आएको रेष्टुरेन्टको व्यापारबाट अवकास लिएपछि उनले विश्राम लिएनन् । बरु पारिवारिक र सामाजिक दायित्वबाट उनी थप बांधिए । समाजका अग्रजहरुसंग हातेमालो गर्दै आफूले हासिल गरेका सानातिना सकारात्मक अनुभवहरु समाजमा बांड्न मन लागेर पुस्तक लेखेको उनले बताए । कर्मभूमिको ऐतिहासिक पृष्ठभूमिलाई बांध्ने प्रयास गरेका छन् केसीले ।

बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले शुभकामना सन्देशमा केसीसंग आफूले विगत तीन दशकदेखि लन्डनमा भेटघाट र संगत गरेको स्मरण गर्दै उनी नेपाली समुदायको एउटा ‘खम्बा’ भएको चित्रण गरेका छन् । सुवेदीको शुभकामनामा केसीको कृतिले नेपाली साहित्यको श्रीवृद्धिमात्र होइन्, यो भावी पुस्ताका लागि पनि प्रेरणाश्रोत हुने उल्लेख छ ।

युरोपको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसनमा विभिन्न पद हुंदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका केसीबारे समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल भन्छन्, ‘केसीसंग सन् १९७९ देखिको चिनजान छ मेरो । उहां शुरुदेखि नै सामाजिक काममा बहुतै सक्रिय हुनुहुन्थ्यो । साथै उहांको रुचि नेपालको पर्यटन प्रवर्धनमा पनि विशेष भएकाले यती संस्था, नेपाली साहित्य विकास परिषद यूके, क्षेत्री समाज यूके, नेपलिज क्याटरर्स एसोसिएसन यूके, विश्व हिन्दू महासंघ यूके आदिको ब्यानरमा उहांले देशसेवा र नेपाली जातीको सत्कर्ममा चाल्नुभएको काम निकै प्रशंसनीय छ ।’

बेलायतमा लामो समयसम्म पर्यटन दूतका रुपमा रहेर केसीले नेपालको पर्यटन प्रवर्धनमा उल्लेखनीय काम गरेका छन् । पूर्व पर्यटन सचिव तथा गभर्नर दीपेन्द्र पुरुष ढकाल केसीको यस पुस्तकले नेपाल र बेलायतको पर्यटकीय सेतुलाई अर्थपूर्ण रुपमा चित्रण गरेको बताउंछन् ।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीको बुझाइमा केसी करिब ५ दशक अघि पातलो नेपाली समुदायमा पनि साहित्य, संस्कृति, पर्यटन र नेपाली पहिचानका लागि विभिन्न प्रयासमा लागिरहन्थे । ‘उहांको रोमाञ्चक तथा सक्रिय जीवनले देखेभोगेका समय र संसर्गमा आएका व्यक्तिहरुसंगका अन्तरक्रियाहरुको दस्तावेजका रुपमा यस कृति प्रकाशित भएको छ’, नेपाली भन्छन् ।


सन् १९७४ मा नेपालबाट रेष्टुरेन्टमा वर्क परमिट भिजा लिएर बेलायत प्रवेश गरेका केसी क्याटरिङ व्यवसायमा झण्डै ४४ वर्ष समर्पित भएपनि उनको रुचि सधैं पर्यटन थियो ।

सन् १९९८ मा केसीकै अग्रसरतामा स्थापना भएको फ्रेण्ड्स अफ ब्रिटेन एण्ड नेपाल टुरिजम अर्गनाइजेसन यूकेले तत्कालिन नेपाल सरकारको पर्यटक भित्रयाउने योजनामा बल पुगेको थियो । सन् १९९८ देखि २००७ सम्म केसीकै अग्रसरतामा ‘किङडम इन द हिमालयन नेपाल टुरिजम म्यागेजिन यूके’ प्रकाशित भएको थियो ।

सन् २००७ मा शुरु गरिएको नेपाल सरकार र पर्यटन बोर्डको ‘सेन्ड होम अ फ्रेण्ड’ अभियान पनि केसीकै ‘कन्सेप्ट’ थियो ।

नेपलिज क्याटरर्स एसोसिएसन यूकेका संस्थापक अध्यक्ष केसी ब्रिटेन नेपाल सोसाइटी, नेपाल हार्ट फाउण्डेसन यूके, नेपलिज लुम्बिनी सोसाइटी यूके, कोशेली नेपाली सांस्कृतिक परिवार यूके, यती नेपाली एसोसिएसन यूके, क्षेत्री समाज यूके लगायत संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा अहोरात्र खटिएका थिए ।

नेपाल सेन्टर इन्टरनेशनल/सेन्टर फर नेप्लिज कल्चर यूकेले प्रकाशन गरेको यस पुस्तकको मूल्य नेपालमा ९९९ रुपैयां र यूकेमा १० पाउण्ड छ ।

पुस्तक विक्रीबाट संकलित सबै आम्दानी नेपाल र ब्रिटेनमा क्यान्सर रिसर्चका लागि प्रदान गर्ने केसीको अठोट छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू