सोमबार, वैशाख १७, २०८१
17:49 | २२:३४

सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष महरा पक्राउ

नेपाली लिङ्क मार्च १८, २०२४

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। 

सुन तस्करी काण्डमा मुछिएका महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो। 

उनी रुपन्देही हुँदै रोल्पा जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

‘हामीलाई माथिबाट निगरानी गर्ने भन्ने आदेश थियो। त्यहि अनुसार हामीले केही दिनयता निगरानी बढाएका थियौं। निर्देशनअनुसार रुपन्देही आएका महरालाई सीआईबीको सम्पर्कमा जानुस् भनेका थियौं। उहाँ रोल्पाको कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले नियन्त्रणमा राखेका होइनौं। तर, काठमाडौं पुगेपछि उहाँको फिजिकल एरेस्ट हुन सक्छ। गौतमबुद्ध विमानस्थलबाट यति एयरलाइन्सको वाई टी-८९२ नम्बरको फ्लाइटबाट उहाँ १०:२७ बजे काठमाडौं फर्किनुभएको हो।’

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो।

आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो। जसमा महराका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत छन्। 

पक्राउ परेका महरालाई प्रहरीले सोमबार नै विमानमार्फत् काठमाडौं ल्याएको छ। उनलाई केही समय महराजगन्जस्थित सिआईबी कार्यालयमा उपस्थित गराइएको थियो।

त्यसपछि म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू