सोमबार, वैशाख १७, २०८१
17:25 | २२:१०

बेलायतसंग राख्ने एजेण्डाबारे छलफल गर्न दूतावास पुगे गोर्खाहरु

नेपाली लिङ्क मार्च १५, २०२४


लन्डन । २७ मार्चमा तय भएको भूतपूर्व गोर्खा मुद्दा सम्बन्धमा जिटुजी वार्ता अघि जीटेन समूहका प्रतिनिधिहरुले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा छलफल गरेका छन् ।

अपरान्ह भएको झण्डै दुई घण्टा लामो बैठकमा बेलायतसमक्ष कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको हो ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले २७ मार्चको त्रिपक्षीय वार्तामा कसरी प्रस्तुत हुने र बेलायतले राखेका जिज्ञासामा कसरी तार्किक जवाफ दिने भन्ने सम्बन्धमा छलफल एवं अगाडिको बैठकको समीक्षा भएको जनाइन् ।

‘बेलायतका धेरै जिज्ञासा त हामीले लिखित रुपमा पनि दिएका छौं । तर, वार्तामा ‘काउन्टर आर्गुमेन्ट’ के कसरी गर्ने भन्ने नै मुख्य विषय थियो’, उनले नेपालीलिंकसंग भनिन् ।

खनालले आउंदो वार्तामा नेपालबाट परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल आउने निश्चित भएको पनि बताइन् ।

बैठकमा राजदूत ज्ञानचन्द्र आचार्यसहित सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख खनाल पनि थिए ।

दिउसो ३ बजेदेखि झण्डै दुई घण्टा चलेको छलफलमा बेलायत सरकारले ‘प्रोपर्सनेट पेन्सन’ मा अहिले पनि आनाकानी गरिरहेको अवस्थामा कसरी काउन्टर दिने भन्नेबारे छलफल भएको त्यहां सहभागी वार्ता समितिका सदस्य तथा गेसो उपसभापति धर्म तामाङले जनाए । उनले ‘माइन्यूट’ नै बनाएर भएको यो बैठक यसअघिका भन्दा परिणाममुखी भएको पनि बताए ।

गोर्खाहरुको तर्फबाट वार्ता प्रवक्ता तथा मध्यस्तकर्ता मेजर जुदबहादुर गुरुङ र सैनिक सहचारी कर्णेल अनुप शाहले बुधबार बिग्रेड अफ गोर्खाज हेडक्वाटर्स क्याम्बर्लीमा भएको वेलफेयर सम्बन्धि छलफलको निष्कर्ष सुनाएका थिए ।

छलफलमा सहभागी सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले तयारी बैठक राम्रो भएको बताए । बैठकमा गोर्खा सदस्यहरुले आ-आफ्ना सुझाव पेश गरेका र दूतावासबाट पनि समन्वयकारी भूमिका निर्वाह भएको राईले जनाए ।

गेसो सभापति कृष्णकुमार राईले गोर्खा सैनिकहरुले पाउने पेन्सन नेपालमा सिधा नगएर भारतमार्फत जाने गरेकोमा सिधै नेपाल राष्ट्र बैँकमा जाने व्यवस्था मिलाउन माग गरेका थिए ।

बैठक सकिएपछि गोर्खाहरुबीच एक अर्कालाई गाली गर्ने वा होच्याउने काम बढिरहेकोप्रति दूतावास बेखुशी भइरहंदा अब त्यस्तो नगर्ने सहमति बैठकमा भएको छ ।

छलफलमा जीटेन समूहमा आवद्ध मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका मेजर (रि) उदयबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान, गेसो सभापति कृष्णकुमार राई र उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ साथै अनसनकर्ताहरु ज्ञानराज राई, पुष्पा राणा घले र धन गुरुङ तथा सत्याग्रहकी कोषाध्यक्ष विष्णु गुरुङ सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू