सोमबार, वैशाख १७, २०८१
02:50 | ०७:३५

लन्डनका पायोनियर अकाउन्टेन्ट प्याकुरेल चुनिए एनबीसी यूके संयोजक

नेपाली लिङ्क मार्च १०, २०२४

संयोजक समीरनाथ प्याकुरेल

लन्डन – नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेको १४ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न साधारणसभाले २०२४–२७ का लागि अनुभवी अकाउन्टेन्ट समीरनाथ प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा दामोदर आचार्य सचिव र खेमराज जोशी कोषाध्यक्ष चुनिएका छन् ।

त्यसैगरि सभाले राजेन्द्र ओझा, रविन्द्र अधिकारी, लेखनाथ घिमिरे, सुमन प्रधान, चुरामणि रेग्मी, तेजमाया रेग्मी सिग्देल, ऋषि खनाल, प्रकाश न्यौपाने, श्याम कोइराला, डा. प्रसन्ना नेपाल, प्रभु न्यौपाने, वसन्त नेपाल, रामसुन्दर शाह, किरण अधिकारी, भानबहादुर चन्द, प्रसुन राना, सुमन गुरुङ, दशरथ बस्याल, कुलप्रसाद सिग्देल, सिर्जना कोइराला तथा पार्वती देवी न्यौपानेलाई ट्रष्टी चुनेको छ ।

समारोहमा २०२१-२४ कार्यकालका संयोजक राजेन्द्र ओझाले संस्थाको कार्यप्रगति र कोषाध्यक्ष खेमराज जोशीले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए।

संयोजक ओझाले आफ्नो कार्यकालमा नेपाल मात्रै हैन इन्डोनेसिया, फिलिपिन्स र युक्रेन सम्मपनि संस्थाकोतर्फबाट सहयोग पुरयाउन सफल भएको स्मरण गरे।

समारोहलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सचिव चिरन्जीवी ढकालले अहिले बेलायतमा नेपालीहरुको दोश्रो मात्रै नभएर तेश्रो पुस्ता पनि हुर्कंदै गरेको बताउंदै नयाँ पुस्तालाई पनि समेट्ने गरी कार्यक्रम संचालन गर्न सुझाव दिए।

संस्थाका सल्लाहकार डा श्याम चन्दले प्रवासी समुदायको एकीकरणका लागि बेलायतमा थुप्रै श्रोत उपलब्ध रहेको भन्दै ती श्रोतको खोजी गरेर समुदायको हितमा कार्यक्रम संचालन गर्न सुझाव दिए।

समाजसेवी शिवजी श्रेष्ठले एनबीसी यूकेमा देखिएको एकता प्रशंसनीय रहेको भन्दै नेपाली संघसंस्थाका निर्वाचन समितिहरुले सहजीकरण समितिको रुपमा काम गरेर चुनाव हैन सर्वसम्मतिको वातावरण बनाउन पहल गर्नुपर्ने बताए।

बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीले बेलायतमा हुर्कंदै गरेका बालबालिकाका लागि नेपाली भाषा कक्षा संचालन गर्न, बेलायतका स्थानीय पुस्तकालयहरुमा नेपाली भाषाका पुस्तक प्रदान गर्न र हाल बेलायतमा आएका नेपाली विद्यार्थीलाई सहयोग गर्न ‘हेल्प डेस्क’ स्थापना गर्न सुझाव दिए।

कार्यक्रममा गोर्खाली समाज यूके अध्यक्ष अशोक ढकाल, कोडेक यूकेकी प्रतिमा दाहाल, नेप्लिज एकाउन्टेन्ट्स एसोसिएशन यूकेका अध्यक्ष शशिधर नेपाल, स्लाउ नेपाली समाजका अध्यक्ष लेखनाथ घिमिरे, नेपाली भाषा तथा संस्कृतिक केन्द्रका अध्यक्ष भोला पनेरु, समाजका कार्यसमिति सदस्यद्वय सुमन प्रधान तथा दशरथ बस्याल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने महानुभावहरु तथा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन समितिका संयोजक मिलन घिमिरेले २०२४-२७ कार्यकालका लागि २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे। समाजका संस्थापक संयोजक कमल पौडेलले सबै सदस्यहरुलाई शपथ दिलाएका थिए।

कार्यक्रम समापन समारोहमा निवर्तमान संयोजक राजेन्द्र ओझाले आफू नेतृत्वको कार्यकालमा सहयोग गर्ने सबै व्यक्ति तथा संस्थालाई धन्यवाद दिए भने नवनिर्वाचित संयोजक प्याकुरेलले अहिलेको रफ्तारलाई कायम राख्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी आफूले काम गर्ने वाचा गरे। उनले सबैसंग सरसल्लाह गरी संस्कृति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाए।

उक्त अवसरमा केक काटेर खुशीयाली मनाइएको थियो।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू