सोमबार, वैशाख १७, २०८१
00:05 | ०४:५०

लन्डन ग्रीनवीच बरोमा रेनु दाहालको स्वागत, भरतपुरसंग सम्बन्ध विस्तारबारे छलफल

नेपाली लिङ्क मार्च ९, २०२४


लन्डन-लन्डनको रोयल ग्रीनवीच बरो र भरतपुर महानगरबीच आपसी सम्बन्ध विस्तारबारे छलफल भएको छ।

बेलायत भ्रमणमा आएकी भरतपुर मेयर रेनु दाहाल र ग्रीनवीच बरोका अधिकारीहरुबीच बुधबार दुई नगरको सहकार्य र आपसी सम्बन्ध विस्तारबारे छलफल भएको हो।

ग्रीनवीच र भरतपुरबीच विभिन्न सामुदायिक प्रोजेक्टहरुमा सहकार्य, एकआपसमा कला, संस्कृति र अनुभव आदानप्रदानसहित भगिनी सम्बन्ध जोड्नेसम्मका विषयमा सकारात्मक छलफल भएको ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले नेपालीलिंकलाई बताए ।

‘बेलायत भ्रमणमा आउनुभएकी भरतपुर महानगरपालिका प्रमुखलाई हामीले ग्रीनवीच बरोमा स्वागत गर्यौं । त्यस अवसरमा उहाँले बरोका विविध पक्षहरुको अवलोकन गरी जानकारी लिनुभयो’, डेपुटी मेयर रानाभाटले भने, ‘सोहि क्रममा दुवै नगरबीच आगामी दिनमा निकट सहकार्य बढाएर काम गर्दै जाने सल्लाह भएको छ ।’

त्यस अवसरमा मेयर दाहालले ग्रीनवीच बरोको चेम्बर अवलोकन गर्नका साथै बैठक सञ्चालन प्रक्रियाबारे जानकारी लिएकी थिइन् ।

उनले ग्रीनवीच बरोस्थित प्रतिष्ठित पर्यटकीय गन्तव्यहरु कटीसार्क, रोयल अब्जरभेटरी, म्यारिटाइम म्यूजियम लगायतको भ्रमण गरेकी थिइन्।

मेयर दाहालले ‘भिजिट भरतपुर २०२४’ अभियानबारे जानकारी गराउँदै ग्रीनवीच बरोका मेयर एवम् काउन्सिलरहरुलाई भरतपुर भ्रमणको निम्तो समेत गरिन्।

दाहालसंगको छलफलमा ग्रीनवीच बरोका मेयर डोमिनिक एमब्याङ, डेपुटी मेयर रानाभाट, काउन्सिल लिडर एन्थोनी ओकेरेकेसहित केही काउन्सिलरहरुको सहभागिता थियो ।

ग्रीनवीच बरोका मेयर (दांया) र डेपुटी मेयरका साथ भरतपुर मेयर दाहाल

आरजीएनएसको स्वागत तथा अन्तरक्रिया

यसैबीच, रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) ले पनि मेयर दाहाललाई स्वागत गर्दै अन्तरक्रिया गरेको छ ।

वुल्लीच टाउन हलमा स्थानीय नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा संस्थाका तर्फबाट अध्यक्ष पुण्य रेग्मीले दाहाललाई सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गरे ।

नारी दिवसको सन्दर्भ पारेर आयोजित अन्तरक्रियामा मेयर दाहालका साथै लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, ग्रीनवीच बरो डेपुटी मेयर जीत रानाभाट, एनसिआइ ग्रुप यूके अध्यक्ष मोहन गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू