शनिबार, वैशाख २२, २०८१
20:12 | ००:५७

लण्डन मेयर र भरतपुर मेयर रेनुले एउटै स्टेजमा लिए अन्तर्राष्ट्रिय अवार्ड (भिडियो)

नेपाली लिङ्क मार्च ८, २०२४

लन्डन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् ।
दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ प्राप्त गरेकी हुन् ।
लन्डन मेयर सादिक खानले दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।
‘दोश्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रिय स्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी भएको छु, अवार्ड लिएपछि उनले भनिन् ‘यस अवार्डले अझ उर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि बल पुग्ने विश्वास छ ।’
आयोजकले अवार्ड दिनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी र बाबुको राजनीतिक उत्तराधिकारी भन्दै उनको परिचय दिएका थिए ।
एउटै स्टेजमा लन्डन मेयर सादिक खानले ‘लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गर्दा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ‘इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् ।
उता, भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् ।
बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले पार्लियामेन्टरियन अफ द इयर (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले मिनिष्टर अफ द इयर, सांसद ग्यारेथ थोमसले ‘स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ ग्रहण गरे ।
त्यसैगरि, सनराइज रेडियोले ‘मिडिया अफ द इयर अवार्ड’ पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले ‘होटल अफ द इयर अवार्ड’ पाएको छ । प्रोफेशर जसपाल कोनरले ‘डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।
निर्णायकहरुको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज थिइन् ।
अवार्ड वितरण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मेयर दाहालका श्रीमान अर्जुन पाठक, छोरी ज्वाईं, लन्डनका व्यवसायी रविन्द्रजंग लामिछाने  लगायत ब्रिटिश तथा भारतीयमूलका बेलायतीको वाहुल्यता थियो ।
इपिजी बेलायत, भारत र युगान्डामा कार्यालय भएको एउटा आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।
अवार्ड ग्रहणपछि मेयर दाहालसंग नेपाली लिंकको संवाद:
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू