आइतबार, वैशाख २३, २०८१
14:50 | १९:३५

बेलायतको एनएचएसमा कार्यरत नेपाली नर्स संख्या ३५ सय बढी

नेपाली लिङ्क मार्च १, २०२४

फाइल तस्विर: नेप्लिज् नर्सिङ एशोसिएसन यूके पदाधिकारी

लन्डन- बेलायतमा कार्यरत नेपाली नर्सहरुको कुल संख्या कति होला ? यससम्बन्धि यकिन तथ्यांक त उपलब्ध छैन, तर यहाँको नेश्नल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत् कार्यरत नेपाली नर्सहरु भने साढे तीन हजार बढी रहेको पाइएको छ।

बेलायतमा कार्यरत नर्सहरुको राष्ट्रियताका सम्बन्धमा गरिएको एक अध्ययनले यहाँ ३ हजार ५ सय ६२ जना नेपाली नर्स रहेको देखाएको छ। जुन संख्या गत वर्ष जुन महिनाको हो र यसमा एनएचएसअन्तर्गत् कार्यरत नर्सहरु मात्रै छन् ।

बेलायतमा एनएचएसमा कार्यरत नर्सहरुको संख्यामा राष्ट्रियताका हिसाबले नेपाल पन्ध्रौँ स्थानमा छ।

तथ्यांकअनुसार बेलायती (११ लाख ५१ हजार) पछि सबैभन्दा धेरै नर्स भारतीय (६० हजार) छन्। तेस्रो स्थानमा फिलिपिनो (३४ हजार) छन्। त्यस्तै, नाइजिरियन २२ हजार, आइरिस १३ हजार र पोलिस ११ हजार छन्।  

यो सूचीमा बेलायतमा धेरै नर्स हुने देशमा नेपालभन्दा अगाडि पोर्चुगल, इटली, पाकिस्तान, घाना, रोमानिया, जिम्बाबे, स्पेन र इजिप्टसहितका मुलुक छन्।

बेलायतमा एनएचएसबाहेक सोसल केयरको क्षेत्रमा पनि उल्लेख्य संख्याका नेपाली नर्सहरु कार्यरत छन्। त्यसबाहेक, यहाँ रजिष्ट्रेसन प्रक्रिया पूरा गरी रजिष्ट्रड नर्स (आरएन) बन्न नसकेका तर सोसल केयरमा काम गर्दै आएका नेपाली नर्सहरु पनि झन् धेरै रहेको अनुमान छ ।  


नेप्लिज् नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम थापाको आँकलनमा हाल बेलायतमा कार्यरत नेपाली नर्सहरुको जम्मा संख्या ८ हजार बढी पुगेको देखिन्छ।  

‘एनएमसीमा रजिष्ट्रर भएका नेपाली नर्सहरु सन् २०२२ सम्ममा तीन हजार रहेको तथ्यांक हामीले पाएका थियौँ। त्यो संख्या अहिले झन्डै पाँच हजार पुग्न लागेको देखिन्छ। त्यस्तै, यहाँ रजिष्ट्रर नभएरै केयर क्षेत्रमा काम गरिरहनुभएका नेपाली नर्सहरु पनि कम्तीमा तीनदेखि ४ हजारको बीचमा हुनुहुन्छ भन्ने हामीले अनुमान गरेका छौँ’, अध्यक्ष गौतमले नेपालीलिंकसँग भनिन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू