शनिबार, साउन १२, २०८१
04:25 | ०९:१०

उपसभामुख रानामगरलाई बेलायतले दिएन भिजा

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२४

लन्डन- नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ।

एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको हो।

उपसभामुख रानामगरले बेलायत आउन आवेदन दिएको कूटनीतिक भिजा (एक्जेम्ट भिजा) का लागि उनको योग्यता नपुगेको प्रष्टिकरण बेलायतले दिएको छ ।

विदेशी मुलुकका सबै अधिकारीहरुलाई ‘इमिग्रेसन कन्ट्रोल’ छुट नहुने तथा सो छुट पाउन उपसभामुख रानामगरको पनि योग्यता नपुग्ने बेलायतले प्रष्ट पारेको छ ।  

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ‘भिजा इष्यू’ ले उपसभामुख रानामगरको बेलायत भ्रमण अन्तिम समयमा रोकिन पुगेको जानकारी दिए।

पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । विभिन्न संघसंस्थाले उनीसंग अन्तरक्रिया गर्ने समेत जनाएका थिए ।   

उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।

त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले उपसभामुखको अनुपस्थितिमा पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्धाको अन्तरक्रिया स्थगित गरिने बताए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू