आइतबार, वैशाख २३, २०८१
12:03 | १६:४८

‘च्यारिटी किङ’ गुरुङको गोर्खा प्यालेसले मनायो सिल्भर जुब्ली, ५ लाख सहयोग घोषणा

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२४

लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले एक विशेष समारोहबीच स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ । बेलायतमा नेपाली रेष्टुरेन्टले वर्षेनी कार्यक्रम गरेर ‘सिल्भर जुब्ली’ मनाएको यो सम्भवतः पहिलो हो ।

वार्षिकोत्सवकै अवसरमा रेष्टुरेन्टले नेपाल र बेलायतमा अहिलेसम्म एक करोड रुपैयांभन्दा बढी च्यारिटी समेत गरेको छ ।

बेलायतमा ‘च्यारिटी किङ’ उपनामले परिचित सूर्य गुरुङको उक्त रेष्टुरेन्टले यसपटक सिल्भर जुब्ली उत्सवका अवसरमा नेपालका लागि ५ लाख रुपैयां सहयोग गर्ने घोषणा गरेको छ ।

गोर्खा प्यालेसले यसअघि पनि नेपालमा शैक्षिक, खेलकुद, स्वास्थ्य आदि क्षेत्र र बेलायतस्थित विभिन्न च्यारिटी संस्थालाई सहयोग गर्दै आएको छ ।

रेष्टुरेन्टले गत २५ फेब्रुअरी आइतबार रसमोर बरो मेयर क्लीभ ग्राट्टनको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह गर्‍यो । उक्त समारोहमा रेष्टुरेन्टका नियमित ग्राहक, आफन्तजन, शुभचिन्तक आदि गरि झण्डै सय जनाको सहभागिता थियो ।

कार्यक्रममा मेयर ग्राट्टनले रेष्टुरेन्टलाई बधाइ तथा शुभकामना दिंदै आफ्नो बरोमा नेपाली व्यवसायको सफलता सुःखद भएको बताए ।

गोर्खा प्यालेस रेष्टुरेन्टका प्रोपाइटर एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ छोरा र श्रीमतिका साथ

गोर्खा प्यालेस रेष्टुरेन्टका प्रोपाइटर एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले कडा मिहेनत, कर्मचारी र परिवारको सहयोग एवं ग्राहकहरुको माया सद्भावले सिल्भर जुब्ली मनाउन पाउंदा गर्व लागेको बताए ।

उनले २५ वर्षको अवधिमा रेष्टुरेन्टले गरेका परोपकारी कार्य र रेष्टुरेन्टबाट प्राप्त अवार्डबारे अवगत गराएका थिए । उनले आगामी दिनमा पनि गोर्खा प्यालेसले माया पाइरहने आशा व्यक्त गरे ।

गुरुङले पछिल्ला वर्षहरुमा रेष्टरेन्ट सञ्चालन चुनौती बन्दै गए पनि ग्राहकलाई सन्तुष्टि दिने आफूहरुको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

‘ग्राहक मेरा लागि भगवान नै हुन्’, गुरुङले भने, ‘उनीहरु वर्षेनी वार्षिकोत्सवमा आएर रमाइलो र च्यारिटी गर्छन् । मेरो सफलता यही नै हो ।’

सञ्चालक गुरुङका छोरा १० वर्षीय साकार गुरुङले वार्षिकोत्सवमा सहभागीलाई धन्यवाद दिएका थिए ।

राफल ड्र, अक्सन समेत गराइएको वार्षिकोत्सवमा उपस्थित सबै ग्राहकलाई निशुल्क खाना, पेय पदार्थ उपलब्ध थियो ।

एनआरएनए आइसीसी सल्लाहकार गुरुङ व्यवसाय भन्दा बढी च्यारिटीमा रमाउने बताउंछन् ।

तस्विर- मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू