सोमबार, वैशाख २४, २०८१
21:04 | ०१:४९

बेलायतमा ग्यास, बिजुलीको भाउ घट्दै

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२४

फाइल तस्विर

लन्डन- आर्थिक मन्दी र महंगीको चेपुवामा परेका बेलायतवासीहरुलाई थोरै भएपनि राहत मिल्ने खबर छ।

पछिल्लो समय अकाशिएको ग्यास, बिजुलीको भाउमा केही गिरावट आउने भएको छ।

बीबीसीका अनुसार औसत मात्रामा उपभोग हुने एक घरधुरीमा ग्यास, बिजुलीको बिल वार्षिक २ सय ३८ पाउन्डले घट्ने भएको छ। जसको अर्थ ग्यास, बिजुलीमा उठ्ने बिल हरेक महिना २० पाउन्ड जति कम हुनेछ।

नियामक निकायले सामान्य अवस्थामा एक घरधुरीमा वार्षिक ग्यास, बिजुली बिलको क्याप १६ सय ९० पाउन्डमा झारेपछि उपभोक्ताका बिल घट्ने भएको हो। 

ग्यास, बिजुलीको नयाँ दर पछिल्लो दुई वर्ष अर्थात् रशिया- युक्रेन युद्ध शुरु भएपछिकै सबैभन्दा न्यून हो। तर यो दर कोभिडपूर्वको अवस्थाभन्दा भने उच्च नै हो।  

अप्रिल महिनापछि ग्यासको दर प्रतिकिलोवाट ६ पेन्स तथा बिजुलीको प्रतिकिलोवाट २४ पेन्स हुनेछ।  जुन दर अहिले क्रमश: ७ दशमलव ४२ र २८ दशमलव ६२ पेन्स छ।

ग्यास, बिजुलीमा घटेको नयाँ दरले बेलायतका इंग्ल्याण्ड, स्कटल्यान्ड र वेल्समा बस्ने झन्डै तीन करोड घरधुरी लाभान्वित् हुनेछन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू