आइतबार, वैशाख २३, २०८१
12:00 | १६:४५

लन्डनमा गोर्खा वार्ता: पेन्सनसहित अन्य मुद्धामा थप छलफल गर्ने सहमति

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२४

लन्डन- लन्डनमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता थप छलफल गर्ने सहमतिसहित सकिएको छ ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा सम्पन्न ‘वर्किङ कमिटी’ (प्राविधिक स्तर) को वार्तामा हरेक मुद्धामा बुंदागत छलफल गर्ने सहमति भएको हो।

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्तामा पेन्सन, अध्यागमन, ‘गट’ सहित अन्य सबै प्रमुख मुद्धामा छलफल भएको जानकारी दिइन्।

‘सबै मुद्धामा छलफल भएको छ। यसअघि बेलायत राजी नभएका पेन्सनसहितका मुद्धामा पनि भूतपूर्व गोर्खा र नेपाल सरकारका तर्फबाट हामीहरुले ‘काउन्टर आर्गुमेन्ट’ राखेका छौँ’, खनालले नेपालीलिंकसँग भनिन्, ’हामीले राखेका विषयमा बेलायती पक्षले सम्बन्धित निकाय र मन्त्रीको तहमा सल्लाह गरेर जवाफ दिने आश्वासन दिएको छ।’ 

वार्तामा गोर्खाहरुका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङले पनि सबै मुद्धामा छुट्टाछुट्टै छलफल गर्न बेलायत तयार भएको नेपालीलिंकलाई जानकारी दिए।

‘मार्च २७ को मन्त्रीस्तरीय वार्ताअघि हरेक मुद्धामा आवश्यकताअनुसार छलफल गर्ने हाम्रो प्रस्ताव बेलायती पक्षले स्वीकार गरेको छ’, उनले भने, ‘सबै मागहरुबारे पर्याप्त अध्ययन र छलफलपछि मार्च २७ मा हामी बेलायतको जवाफ माग्नेछौँ।’

वार्तामा बेलायतबाट रक्षा र गृह मन्त्रालयका अधिकारी, नेपालको तर्फबाट दूतावासकी उपनियोग प्रमुख खनाल र सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ र अनसनकर्ता पुष्पा राणा घले सहभागी थिए।

करिब डेढ घण्टा वार्ता चलिरहंदा भूतपूर्व गोर्खाहरु बाहिर शान्तिपूर्ण प्रदर्शन गर्दै थिए ।

गोर्खा मुद्धामा जारी त्रिपक्षीय वार्ताअन्तर्गत अब आगामी मार्च २७ मा मन्त्रीस्तरमा वार्ता गर्ने तयारी छ।

विगत तीन दशकदेखि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले  समान पेन्सन नै अन्तिम शर्त राख्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू