सोमबार, वैशाख २४, २०८१
13:32 | १८:१७

अभिनेता भुवन केसीसहितका कलाकारहरुसंग एनआरएनए यूकेको अन्तरक्रिया

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२४

लन्डन । हितकाजी गुरुङ नेतृत्वको एनआरएनए यूकेले नेपाल चलचित्र विकास बोर्ड र नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीसंग नेपाली चलचित्र प्रवर्धन र बजार सम्बन्धमा छलफल गरेको छ ।

नेपालबाट आएका बोर्ड अध्यक्ष अभिनेता भुवन केसीसहितका कलाकार एवं चलचित्रकर्मीहरुको सहभागितामा गत १२ फेब्रुअरीमा अल्डरसटमा कार्यक्रम भएको हो ।

एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको उक्त छलफलमा बोर्ड अध्यक्ष केसीले चलचित्र विकास बोर्डको परिकल्पना र लक्ष्यहरू प्रस्तुत गरेका थिए । उनले नेपाली चलचित्र उद्योगको नियमन, सहजीकरण, विकास, नेपाली चलचित्र संस्कृति र पहिचानको संरक्षण एवं प्रवर्धनमा बोर्डको भूमिका र योगदानबारे प्रकाश पारे । अभिनेता केसीले नेपाल र बेलायतमा नेपाली चलचित्र निर्माण, वितरण र प्रदर्शनीका सम्भावना र चुनौतीहरू एवं विश्व बजारमा नेपाली चलचित्र उद्योगका चुनौती र अवसरबारे पनि जानकारी दिए ।

एनआरएनए यूके महासचिव गोविन्द खरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा नेशनल डेल्फिक काउन्सिल, नेपालका अध्यक्ष श्रीदेव अर्यालले आफ्नो संस्थाको इतिहास र गतिविधिबारे जानकारी दिए। उनले काउन्सिल नेपाली कला संस्कृतिको विविधता एवं उत्कृष्टता प्रदर्शन र प्रवर्धन गर्ने मञ्चका रुपमा कटिवद्ध रहेको बताए ।

नेपाली कला संस्कृतिको प्रवर्धन र संरक्षणका लागि काउन्सिलले प्रदर्शनी, कार्यशाला, महोत्सव, प्रतियोगितालगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको अर्यालले बताए । उनले एनआरएनए यूकेसंग सहकार्य गर्न आफूहरु इच्छुक रहेको पनि बताए ।

कार्यक्रममा नेपालबाट आएका बोर्ड प्रतिनिधि निराजन गिरी, काउन्सिलका उपाध्यक्ष जीवन पराजुली, कलाकार अम्बिका तामाङ, गायिका सरु थापा, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खेरल लगायत केही कलाकर्मीले आ-आफ्नो धारणा र सुझाव सल्लाह प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू