शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

शिव कल्चरल सेन्टर अल्डरसटमा कार्यसमिति, ट्रष्टी र संरक्षकको स्वागत

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२४

लण्डन- शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर (शिव मन्दिर) अल्डरसटको साधारण सभाबाट करिब ६ हप्ता पहिले चयन भएको कार्यसमितिले पहिलो अनौपचारिक जमघट गरेको छ ।

गत ४ फेब्रुअरी आइतबार मन्दिरका ट्रष्टी र संरक्षक परिषद सदस्यहरु तथा तिनका परिवार आमन्त्रित गरी संयुक्त भेटघाट गरिएको हो । 

अपरान्ह ३ बजे सुरु यस्तो पारिवारिक भेटघाट कार्यक्रम पहिलो हो । अनौपचारिक रूपमा आयोजित कार्यक्रमको मौका सदुपयोग गर्दै मन्दिरमा उपस्थित ट्रष्टीहरु, संरक्षकहरु र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण पनि गरियो । 

शिव मन्दिर अल्डरसटका नियमित पण्डित पवन प्रसाद दाहालले स्वस्ति वाचन गर्दै सम्पूर्ण उपस्थित भक्तहरुलाई तीन पटक ॐकार उच्चारण गराएका थिए । अत्यन्त छोटो औपचारिक कार्यक्रम संचालन मन्दिर कार्यसमिति महासचिव सुषमा गुरुङले गरेकी थिइन्। 

उपाध्यक्ष हरी भट्टराईले सबै पाहुनालाई स्वागत गरे भने शिव मन्दिरका अध्यक्ष विक्रम भट्टराईले ट्रष्टी र संरक्षक परिषदका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे । पूर्व अध्यक्ष तथा नवनियुक्त संरक्षक परिषदका संयोजक वाचस्पति रेग्मी र उपाध्यक्ष हरी भट्टराईले सबै उपस्थित जोडीलाई शिवनामीद्वारा सम्मान गरेका थिए । 

कार्यक्रममा उपस्थित शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका पदेन संरक्षक परिषदका सदस्य तथा तमुधिं यूके अध्यक्ष हरि गुरुङले शिव मन्दिर अल्डरसटले तमुधिं यूके अध्यक्षलाई पदेन संरक्षक परिषदको सदस्यमा आमन्त्रित गरेर सम्पूर्ण गुरुङ समुदायलाई सनातन संस्कृतिको धरोहर शिव मन्दिरमा स्वागत गरेको अनुभूति भएको बताउंदै मन्दिरको चौतर्फी विकासका लागि कटिबद्ध हुने जनाए ।

सोही अवसरमा तमुधिं यूके अध्यक्ष गुरुङले शिव मन्दिर अल्डरसटको आन्तरिक ट्रष्टी बन्न £१०१० (एक हजार दश पाउन्ड) सहयोग गरे । एनआरएनए यूके अध्यक्ष तथा संरक्षक परिषदका सदस्य हितकाजी गुरुङले सात समुद्रपार आएर पनि आफ्नै गाँउघरको जस्तै मन्दिर अल्डरसटमा बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे । 

अध्यक्ष गुरुङले पहिले नै मन्दिरमा पाँच सय पाउन्ड सहयोग गरेको र बाँकी पाँच सय पाउन्ड थपेर आन्तरिक ट्रष्टी बन्ने जनाए । 

यसैगरी पासा पुच गुठी ह्याम्पसायरका अध्यक्ष केशव श्रेष्ठले पनि बेलायतमा रहेका नेवारी समुदायलाई शिव मन्दिर अल्डरसटले आफ्नो अभिन्न अंग बनाएकोमा कृतज्ञता व्यक्त गर्दै ह्याम्पसायर क्षेत्रमा रहेका नेवारी समुदायका सामूहिक धार्मिक तथा परम्परागत पर्वहरु मन्दिरमा मनाउन प्रयास गर्ने बताए। 

शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका सह-कोषाध्यक्ष किशोर गुरुङले आर्थिक विवरण पेश गर्दै मन्दिरका लागि मासिक कम्तीमा £५ स्ट्याण्डिङ अर्डर सेट गर्न अनुरोध गरेका थिए । 

औपचारिक कार्यक्रम बिट मार्ने क्रममा मन्दिरका अध्यक्ष विक्रम भट्टाराईले छोटो समयको अनुरोधमा उपस्थित सबैमा धन्यवाद दिए । ‘यो मन्दिर मेरा सन्तान जस्तै प्यारो लाग्छ, आजका दिनसम्म तपाईंहरु सबैको साथ, सहयोग अनि सहकार्यले मन्दिरको भौतिक निर्माणमा दत्तचित्त भएर लाग्यौं, मन्दिर बन्यो तर भन्नै पर्छ अबको हाम्रो मुख्य काम भनेको यसलाई कसरी चुस्त दुरुस्त बनाएर संचालन गर्ने भन्ने हो’, भट्टाराईले भने- ‘मन्दिर संचालनका लागि नीति नियम अर्थात् पोलिसी बनाएर कार्यान्वयन गराउनु पर्नेछ, यसका लागि म सबैसँग सहयोग माग्छु ।’  

त्यसपछि मन्दिरका अन्य कुराहरु जस्तै छिमेकीको घर किन्ने, मन्दिरको लागि पछाडि एक्सेसका लागी प्रयास गर्ने, मन्दिरमा पण्डितहरुका निमित्त आवाससहितको तल्ला थप्ने, मन्दिर भित्रको ले-आउटमा पुनर्विचार गर्ने कुरामा अगाडि बढ्ने उनले बताए । 

मन्दिरमा तुरुन्त गरिहाल्नु पर्ने पहिलो काम परेवाको व्यवस्थापन, दोश्रो चतुर्मुखी शिवलिंगबाट पठाउने पानीको व्यवस्थापन, तेश्रो हवनकुन्डका लागि एक्स्ट्र्याक्ट फ्यान र प्यानोफी जरुरी रहेको पनि उनले बताए ।  

अबका दिनमा कार्यसमिति, ट्रष्टी परिषद र संरक्षक परिषदका मिटिङहरु नियमित राख्ने पनि उनको भनाइ थियो । 

कार्यक्रममा शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर अल्डरसटका अध्यक्ष विक्रम भट्टराई तथा धर्मपत्नी पवित्रा भट्टराई, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका संयोजक वाचस्पति रेग्मी, मन्दिरका पूर्व अध्यक्ष तथा ट्रष्टी रोहित गुरुङ, उपाध्यक्ष तथा ट्रष्टी हरी भट्टराई र धर्मपत्नी विमला भट्टराई, संरक्षक परिषदका सदस्य तथा तमुधिं बेलायतका अध्यक्ष हरि गुरुङ तथा उनकी धर्मपत्नी सन्ध्या गुरुङ, संरक्षक परिषदका सदस्य तथा एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ तथा धर्मपत्नी सिता गुरुङ, सफल व्यवसायी योगेन क्षेत्री र धर्मपत्नी रिता क्षेत्री, ट्रष्टी तथा बिसिसी यूके अध्यक्ष हरेक गुरुङ तथा धर्मपत्नी जगना गुरुङ, सफल व्यवसायी पुरन गिरी तथा धर्मपत्नी कुमारी गिरी, आस बहादुर गुरुङ (एबी) तथा धर्मपत्नी, शिव मन्दिर अल्डरसटका पूर्व उपाध्यक्ष शेर सुनार तथा धर्मपत्नी, रसमुर बरोका काउन्सिलर जीव बेलबासे तथा धर्मपत्नी अमिता बेलबासे, संरक्षक परिषदका पदेन सदस्य तथा ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ, सुवास कायस्थ र उनकी धर्मपत्नी, तमुधिं बेलायतका पूर्व अध्यक्ष ज्ञाम गुरुङ तथा धर्मपत्नी, बेजिङ्स्टोकबाट शिव मन्दिरका ट्रस्टी बेम थापा तथा धर्मपत्नी चित्रा थापा, ट्रष्टी अरविंद सहानी तथा धर्मपत्नी अनु सहानी, गोर्खा चौतारीका संयोजक तथा शिव मन्दिर अल्डरसटका सहकोषाध्यक्ष किशोर गुरुङ, कार्यसमिति सदस्य क्या. विष्णु श्रेष्ठ तथा धर्मपत्नी, कार्यसमिति सदस्य तथा योग प्रशिक्षक मेग गुरुङ तथा धर्मपत्नी, कार्यसमिति सदस्य अनिता गुरुङ र शिव मन्दिरमा विगत पाँच वर्ष देखि सेवा गर्दै आएका ८८ वर्षीय भिम लामिछाने गुरुङ उपस्थिति थिए।

छोटो कार्यक्रम पछि मन्दिर कार्यसमिति सदस्यहरुले पकाएको भोजन गरे लगत्तै पण्डित पवन प्रसाद दाहालले स्वस्थानी व्रतकथा वाचन गरेका थिए । पण्डितले कथा वाचनको अन्त्यमा सबै भक्तजनलाई नचाउने गरी भजन गाएका थिए । 

शिव मन्दिर अल्डरसट कार्यसमितिले मन्दिरमा हरेक समुदायका सदस्यहरुको आफ्नै आस्थाको केन्द्र भएको अनुभूति गराउन सकेसम्म सबैलाई समेट्ने कोशिस गरेको छ। यसैलाई कार्यान्वयन गर्ने हेतुले ग्रेटर रसमुर नेपाली कम्यूनिटी अध्यक्ष, तमुधिं बेलायत अध्यक्ष, मगर संघ यूके अध्यक्ष अनि पासापुच गुठी यूकेका अध्यक्षलाई मन्दिरको संरक्षक परिषद सदस्यमा आमन्त्रित गरिएको अध्यक्ष भट्टराईले बताए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू