शुक्रबार, जेठ ३, २०८२
12:47 | १७:३२

बेलायती राजा चार्ल्सलाई क्यान्सर

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२४

लन्डन- केही सातादेखि अस्वस्थ बेलायती राजा चार्ल्समा क्यान्सर भेटिएको छ। ७५ वर्षीय राजाको उपचारको क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो। उनको आजैबाट उपचार पनि शुरु भएको छ ।

राजा चार्ल्सलाई कस्तो क्यान्सर भएको भन्ने खुलेको छैन । तर, उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ। प्रोस्टेटसम्बन्धि समस्याका लागि हालै उनी अस्पताल भर्ना भएका थिए।

राजा चार्ल्सले उपचार गरिरहंदा सार्वजनिक समारोहमा आफ्नो संलग्नता स्थगित गर्ने तर राज्यको कामलाई सामान्य रूपमा जारी राख्ने पनि बकिङहम प्यालेसले बताएको छ ।

राजा चार्ल्सले परिवारलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बीबीसीले जनाएको छ । राजाले छोराहरू प्रिन्स विलियम, प्रिन्स ह्यारी र भाइबहिनीहरू राजकुमारी एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवर्डलाई भनेका हुन्।

बेलायती प्रधानमन्त्री ॠषि सुनक, विपक्षी लेबर पार्टीका नेता केर स्टार्मरलगायतले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अन्य बेलायती राजनीतिज्ञ र सेलिब्रेटीहरुले पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजाको खबर सुनेर आफू ‘चिन्तित’ भएको बताएका छन्। पत्रकारहरूले सोधेको प्रश्नमा बाइडेनले भनेका छन्, ‘हो, म उहांको बारेमा चिन्तित छु। आशा छ म उहाँसँग छिट्टै कुरा गर्नेछु ।’

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘एक्स’ मा लेखेका छन्, ‘म, देशभरका क्यानाडाली र संसारभरका मानिसहरू जस्तै राजा चार्ल्सको बारेमा सोच्दै छु किनकि उहाँ क्यान्सरको उपचार गराइरहनु भएको छ ।’ उनले भनेका छन्- ‘हामी उहाँलाई धेरै शुभकामना पठाउँदैछौं र छिटो र पूर्ण स्वास्थ्यलाभको आशा गर्दछौं ।’

क्यानाडा राष्ट्रमण्डल सदस्य हो र राजा यसको राज्य प्रमुख पनि छन् ।

दरबारले सार्वजनिक गरेको राजाको नयां तस्बिर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू