आइतबार, जेठ ६, २०८१
21:58 | ०२:४३

ब्रिटिश सेनामा नेपालबाट ३ सय ३७ जना भर्ती, सेनाप्रमुखले गरे स्वागत

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२४

लन्डन। यस वर्ष नेपालबाट ब्रिटिश गोर्खा सेनामा भर्ती हुन सफल नयाँ सैनिकहरुलाई बेलायती सेनाका प्रमुखले स्वागत गरेका छन्।  

पोखरामा तीन सय बढी नयाँ भर्ती गोर्खा सैनिकहरुको प्रमाणीकरण परेडका क्रममा बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले स्वागत गरेका हुन्।

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुखसामु नयाँ भर्ती सैनिकहरुले वफादारीको शपथ लिएका छन्।

त्यस अवसरमा सेनाप्रमुख स्यान्डर्सले नयाँ भर्ती सैनिकहरुलाई वधाई तथा शुभकामना दिए।

आफ्ना पितासमेतले गोर्खा पल्टनमा सेवा गरेको स्मरण गर्दै उनले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे पनि उल्लेख गरे।

यस वर्ष बेलायती सेनाको गोर्खा ब्रिगेडका लागि नेपालबाट जम्मा तीन सय ३७ जना भर्ती भएका छन्। जुन संख्या गत वर्ष भर्ती भएका २ सय ४ जनाको तुलनामा डेढ गुणाभन्दा बढी हो। 

परेड समापनसंगै नयाँ भर्ती गोर्खा सैनिकहरु बेलायत आउंदैछन्। उनीहरुले योर्कशायरको इन्फन्ट्री ट्रेनिङ सेन्टर क्याटरिकमा अन्तिम चरणको प्रशिक्षण लिनेछन् । सोही प्रशिक्षण पूरा गरिसकेपछि उनीहरु कार्यक्षेत्रमा खटिनेछन्। 

तस्विर: ब्रिगेड अफ गोर्खाज्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू