आइतबार, जेठ ६, २०८१
23:44 | ०४:२९

यूकेमा आगलागीमा परेर नेपाली दिदीबहिनीको मृत्‍यु

धुँवाको मुस्लोमा निसास्सिएर मृत्‍यु

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२४

मृतक दिदीबहिनी शिक्षा (बांया) र आँचल सुवेदी (तस्विर- डेली रेकर्ड)

लन्डन- स्कटल्यान्डको एबर्डिनमा आगलागी हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्।

एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।  

शिक्षा २४ वर्ष र आँचल २८ वर्षको उमेरका हुन्। उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन्।

एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा शिव तिवारीका अनुसार आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गुमाएका हुन्। 

उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी शुरु भएको थियो। आगलागी भएको थाहा पाउनेबित्तिकै हतार-हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए।

आगो शुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरेपनि भूईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको थियो।

पाँच मिनेटभित्रै दिदीबहिनीको मृत्‍यु भएकाले उद्धार सम्भव नभएको डा तिवारीले बताए। उपल्लो तलामा रहनेहरुको उद्धार भएपनि आफै भागेर बाहिर जान खोजेका दिदीबहिनी धुँवामा निसास्सिएर ज्यान गुमाउन बाध्य बनेको बुझिएको छ।  

आगलागी कसरी शुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ।

अस्पतालमा पोस्टमार्टम र प्रहरी अनुसन्धानको औपचारिकता पूरा भएको र आगामी साता मंगलबार दिदीबहिनीको अन्त्येष्टि गर्ने तयारी रहेको  परिवारनिकट स्थानीय सामाजिक अभियन्ता जोनी पहारीले नेपालीलिंकलाई जानकारी दिए।

नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो। 

उनीहरुका तीन छोरीमध्ये एक आफ्नो जीवनसाथीसँग बस्दै आएकी छन् भने आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्दै आएका थिए।

मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा वित्तिय क्षेत्रमा काम गर्दै आएकी थिइन्।  

*थप विवरणसहित समाचार अपडेट गरिएको छ -सं.।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू