सोमबार, वैशाख १७, २०८१
20:52 | ०१:३७

जब नेपालीमूलका किवान राईले म्यान्चेस्टर युनाइटेडविरुद्ध खेले

नेपाली लिङ्क जनवरी २९, २०२४

म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलमा किवान राई (पहेंलो जर्सी)

लन्डन । फुटबल जगतमा विश्वमै सबैभन्दा चर्चित र लोकप्रिय छ बेलायती क्लब म्यान्चेस्टर युनाइटेड।  

धेरै नेपाली समेत प्रशंसक रहेको बहुप्रतिष्ठित यो क्लबका लागि खेल्ने अवसर हालसम्म कुनै नेपाली फुटबलरले नपाएपनि यही क्लबको विरुद्ध खेल्न भने बेलायतस्थित नेपालीमूलका फुटबलर किवान राईले मौका पाएका छन्।  

आइतबार सम्पन्न एफए कपको चौँथो राउन्डको खेलमा म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गरेको टोली न्यूपोर्ट काउन्टीको टीममा थिए किवान।

न्यूपोर्टबाट १८ नम्बर जर्सीमा खेल्ने स्ट्राइकर उनी ‘सब्सिच्यूट’ का रुपमा खेल सकिन केही समय बांकी रहंदा मात्रै मैदान प्रवेश गरेका थिए।

१२ मिनेट मैदानमा रहंदा किवानले एक सट प्रहार गरेपनि गोल हुन सकेन। इङ्लिस फुटबल लिगअन्तर्गत लिग-२ मा रहेको न्यूपोर्ट काउन्टी म्यान्चेस्टर युनाइटेडसँग ४-२ ले पराजित भयो।  

न्यूपोर्ट टाउन र म्यान्चेस्टर युनाइटेडबीचको खेल यसपटक बेलायतदेखि नेपालसम्मका फुटबलप्रेमीहरुबीच चर्चाको विषय बन्यो। म्यान्चेस्टर युनाइटेडको खेलमा मैदानमा नेपाली मूलका खेलाडी समेत देख्न पाउनु धेरै नेपालीका लागि ठूलो उत्साह र गौरव थियो।

१९ वर्षीय किवान बेलायतको वेल्समा जन्मिएका हुन् ।  उनका पिता बेलायती गोर्खा सैनिक हुन्। परिवारसहित वेल्समै बस्दै आएका उनले एक दिन त्यहाँको राष्ट्रिय टीमबाट खेल्ने लक्ष्य लिएका छन्।  

इङ्लिस फुटबल लिगअन्तर्गत लिग २ मा रहेको न्यूपोर्ट काउन्टीसँग किवानले गत वर्ष आफ्नो पहिलो व्यवसायिक सम्झौता गरेका थिए। इङ्लिस प्रिमियर लिग वा इङ्लिस फुटबल लिगमा व्यवसायिक तहमै सम्झौता हस्ताक्षर गर्ने उनी नै नेपालीमूलको पहिलो खेलाडी हुन्।

सन् २०२३ को मार्चमा न्यूपोर्ट काउन्टीको सिनियर टीमबाट ‘डेब्यू’ गरेका थिए किवान । उनले गत अगस्टमा इङ्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डविरुद्ध एक गोल स्कोर गरे जुन गोल न्यूपोर्टका लागि उनको पहिलो थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू