आइतबार, जेठ ६, २०८१
23:20 | ०४:०५

लन्डनमा दोस्रो ‘बिस्का जात्रा’ अप्रिल १३ मा, शुरु भयो तयारी

नेपाली लिङ्क जनवरी २८, २०२४

लन्डन- पासा पुच: गुथि यूके लन्डनमा दोस्रो ‘बिस्का जात्रा’ को तयारीमा जुटेको छ।

आगामी अप्रिल १३ तारिख शनिबार नेपाली नयाँ वर्षकै दिन लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा आयोजना हुने जात्राको तयारी शुरु गरिएको हो।

शनिबार सम्पन्न पासा पुच: गुथि यूकेको तयारी बैठकले दोस्रो बिस्का जात्राका लागि विभिन्न जिम्मेवारीहरु बांडफांड गरेको छ ।  

गुथिका अध्यक्ष सुशील प्रजापतिका अनुसार जात्राको संयोजक पासा पुच: गुथि साउथ इष्ट लन्डन अक्ष्यक्ष माधवलाल श्रेष्ठ र उपसंयोजक पासा पुच: गुथि रेडिङका अध्यक्ष दिव्य महर्जन तोकिएका छन्। बेलायतस्थित गुथिका सबै शाखाहरुको धिमे र धाः बाजाका टोली र भैरव गण नाचको तयारी प्रशिक्षण आगामी फेव्रुअरीबाटै सञ्चालन गरिने भएको छ। 

त्यस्तै, भैरव र भद्रकालीको पुरानो रथको पाटपुर्जा निरिक्षण गरि नयां रथहरुको निर्माणको जिम्मा सुशील प्रजापति, ओजेश सिंह र सोहन सुवाल लगायतको टिमलाई प्रदान गरिएको छ।  

जात्राका लागि योसिंद्दो, भैरवनाथ र भद्रकालीको रथ बेलायतमै निर्माण गरिनेछ। कार्यक्रमस्थलमा नेवारी र नेपाली परिकारका विभिन्न ‘फुड स्टल’ राखिनेछन् ।

त्यस्तै, विदेशी फोटोग्राफरहरुले खिचेका नेवारी संस्कृति र सम्पदा झल्काउने फोटोहरुको प्रदर्शनी पनि गरिनेछ।  

जात्रामा बेलायतभर र युरोपका विभिन्न क्षेत्रबाट समेत सयौँको   सहभागिता अपेक्षा गरिएको छ। 

यसअघि पासा पुच: गुथिले दुई वर्षअघि लन्डनमा पहिलोपटक आयोजना गरेको बिस्का जात्रा सयौँको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको थियो।

गुथिले हरेक दुई वर्षमा बेलायतमा बिस्का जात्रा आयोजना गर्ने योजना बनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू