सोमबार, वैशाख १७, २०८१
08:02 | १२:४७

नेपाल यू-१९ विश्वकपको दोस्रो चरणमा, अबको भिडन्त भारत र बंगलादेशसँग

अफ्गानिस्तानमाथि रोमाञ्चक जीत

नेपाली लिङ्क जनवरी २६, २०२४


लन्डन- नेपाल आइसीसी यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरण प्रवेश गरेको छ ।  

शुक्रबार समूह चरणको अन्तिम खेलमा अफ्गानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्स चरण पुगेको हो।

१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाठीले १६ रन जोडे।

खनालले चौथो विकेटका लागि आकाश त्रिपाठीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।

७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।

गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

१२७ रन जोड्दा कप्तान खनाल सातौँ विकेटका रुपमा आउट भएपछि नेपाल थप दबाबमा परेको थियो । त्यसपछि दीपक र सन्तोष भन्डारीले आठौँ विकेटका लागि १३ रनको साझेदारी गरे ।

नेपाललाई जितका लागि २ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सुबासले विजयी रनका रुपमा चौका प्रहार गरेका थिए ।

समूह ‘डी’ मा नेपाल तेस्रो हुँदै सुपर सिक्स पुगेको हो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपालले अगाडि बढ्न अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो।

समूह एबाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।

नेपालले यसअघि सन् २०१६ मा आयोजित विश्वकप संस्करणमा पनि दोस्रो चरणको यात्रा तय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू