शनिबार, वैशाख २२, २०८१
10:27 | १५:१२

बेलायतमा दर्जन कार्यक्रम गरेर फर्किए प्रकाश सपुत

नरेन्द्र बस्नेत जनवरी १८, २०२४

गायक प्रकाश सपुत

लन्डन –नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्न सफल गायक, संगीतकार, मोडल तथा अभिनेता प्रकाश सपुतले यसपटक बेलायतमा करिब एक दर्जन कार्यक्रम गरेर नेपाल फर्किए ।

बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा दोस्रो पटक लन्डन आएका सपुतले पहिलोपटक गत अगष्टमा आउँदा अल्डरसटको एम्पायर हलमा एउटा मात्र कार्यक्रम गरेर फर्किएका थिए ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेलायत आएका सपूतले यसपटक भने यहांका विभिन्न शहरमा करिब एक दर्जन कार्यक्रम भ्याए ।

‘मह जोडी टुर २०२३’ को सिलसिलामा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथ सपुतले डिसेम्बर २३ मा लण्डनको ह्यारो लिजर सेन्टरमा पहिलो कार्यक्रम गरेका थिए भने १३ जनवरी सांझ अल्डरसटको एम्पाएर हलमा अन्तिम कार्यक्रम गरे । लन्डनबाहिर लिभरपुलमा सोमबार साँझ उनले बेलायत बसाइको अन्तिम प्रस्तुति दिएका थिए ।

ह्यारो, अल्डरसट, प्लमस्टेड, आसफोर्ड, स्वीन्डन, बेजिङस्टक, बर्मिंङहाम, स्कटल्याण्ड, लिभरपुललगायतका थुप्रै स्थानमा यसपटक उनले कार्यक्रम गरे ।

‘बोल माया’ गीतबाट चर्चाको शिखरमा पुग्न सफल गायक सपुतको पछिल्लो गीत ‘मुटु कटक्कै’ अहिले निकै चर्चामा छ । त्यसो त उनका गीतहरु जति चर्चामा पुग्छन् उति नै विवादमा पनि तानिने गर्छन् । यस विषयमा उनी भन्छन्, ‘मैले समाजमा भएका वास्तविक गतिविधिलाई संगीतको माध्यमबाट उजागर गर्न खोजेको मात्र हो, कतिपय वास्तविक कुराहरु उठाउँदा सानोतिनो तर्क वितर्क हुनुलाई सामान्य र सहज रुपमा लिने गरेको छु ।‘

करिब तीन साताको बेलायत बसाइमा उनले आफ्ना लोकप्रिय गीतमार्फत बेलायतका सबै उमेर समूहका दर्शक स्रोतालाई मनोरन्जन दिलाए । गीतसंगीतमार्फत मानिसका भोगाई, पीर अनि व्यथा उजागर गर्दै आएका सपुतले विशेषगरी विदेशमा बस्ने नेपालीको व्यथा केन्द्रित आफ्ना गीतहरु गाएर दर्शकलाई मार्मिक र भावुक बनाए ।

अल्डरसटको एम्पाएर हलमा आयोजित कार्यक्रममा सपुतले एक दर्जन बढी गीत गाएर मनोरन्जन दिलाएका थिए । उनी आउनु अगाडि नेपालबाट बेलायत आएका अर्का दोहोरी गायक आरपी पौडेलले ‘माझी दाई पोखरा फेवा तालमा’ गीतको लयमा अंग्रेजी नेपाली मिश्रित प्यारोडी गीतलगायत विभिन्न लोकभाका प्रस्तुत गरेका थिए ।


विदेशमा कमाउन गएको श्रीमान दशैंमा घर आउंछ भनेर प्रतिक्षा गरिरहेकी श्रीमतीलाई विदा नमिलेका कारण आउन नपाएपनि पैसा पठाएको छु भन्दै श्रीमतीसंग फोनमार्फत भएको कारुणिक कुराकानीमा आधारित ‘चरर, बरर, धरर’ बोलको दशैं गीत गाउँदै स्टेज चढेका थिए प्रकाश ।

परदेशमा भनेजस्तो कहाँ हुन्छ र भन्ने भाव बोकेको उक्त गीतसंगै बोल मायाँ, गलबन्दी, फूलमाया, दोहोरी ब्याटललगायत अरेली काँडैले, कमाउने नि हो रमाउने नि हो, माझी दाई, मेरो मायाँ बसेको गाउँमा… जस्ता थुप्रै गीत गाएर करिब साँढे दुईघण्टा स्टेजमा बिताए । गीत गाउँदा गाउंदै स्टेजमा फूलमाला खादा र नगदसहित स्वागत गर्ने दर्शकको भीडले उनलाई ढुक्कले गाउनसमेत वाधा पुगिरहेको थियो । बेलायतमा गरिने यस्तो सम्मान अन्य मुलुकको तुलनामा छुट्टै रहेको उनले बताए ।

आफूले विदेशमा बसेका नेपालीका दुःख पीडालाई निकै नजिकबाट नियालेको र तिनै पीडालाई गीतसंगीतमार्फत नयाँ ढंगबाट प्रस्तुत गर्दै आएको उनले बताए ।

आफ्नो सृजनालाई प्रयोग, नयाँ अनुभव र पागलपनको संज्ञा दिने सपुत यस्तो चाहिं चल्छ भनेर नभई यस्तो चाहिं गरेर हेरौं न त भन्ने उद्देश्यले आफ्ना सृजना पस्किने गरेको बताउंछन् ।

आफ्नो कला, सृजना र संगीतलाई समाज, साहित्य, कथा र व्यापारसंग जोड्ने प्रयाससहितको उनको पछिल्लो प्रस्तुति ‘मुटु कटक्कै’ पनि छोटो समयमा झन्डै ५० लाख दर्शकले हेरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू