शनिबार, जेठ ५, २०८१
19:01 | २३:४६

प्रधानमन्त्रीको युगान्डा भ्रमणमा सुपुत्रीसहितको टोली

रासस जनवरी १७, २०२४

काठमाडौँ, ३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) गणतन्त्र युगान्डा प्रस्थान गर्दै छन् । उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । यसअघि आज र भोलि बस्ने मन्त्रीस्तरिय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नेछन् । मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

१९औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू