सोमबार, वैशाख २४, २०८१
02:34 | ०७:१९

नेपालमा बढ्दो सडक दुर्घटनाः बेलायतबाट सिक्न सकिन्छ यी कुरा



नवीन पोखरेल/लन्डन जनवरी ९, २०२४

नेपाल सरकारले केही दिनअघिमात्र ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीका कारण भएको निष्कर्षसहित छानविन प्रतिवेदन सार्वजनिक गरयो ।

नेपालको इतिहासमा तीन दशक यता भएको उक्त हवाई दुर्घटना सबैभन्दा खराब थियो । 

उक्त हवाइ दुर्घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चा पायो । यो आफैंमा दुःखद वास्तविकता हो ।

तर, यस हवाई दुर्घटनामा निधन भएका यात्रु संख्या जति मानिस त प्रत्येक तीन दिनमा सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । तैपनि सडक दुर्घटनाप्रति न सरकारलाई चासो छ, न यकीन तथ्यांक ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा गत डिसेम्बरमा प्रकाशित ५ औं ग्लोवल रोड सेफ्टी स्टेटस रिपोर्टले नेपालको डरलाग्दो स्थिति चित्रण गरेको छ । ग्लोवल स्टेटस रिपोर्ट सडक सुरक्षामा विश्वव्यापी प्रगतिको अनुगमन गर्न प्रयोग गरिने एउटा उपकरण पनि हो । 

प्रतिवेदनले विद्यमान समस्या र चुनौतीहरुलाई महत्व दिन्छ । साथै सरकार र नागरिक समाजका अगुवाहरुलाई नीति कार्यान्वयनमा सुझाउंछ ।

नेपाल सरकारले सन् २०२१ मा सडक दुर्घटनाबाट २,८३३ जनाको मृत्यु भएको तथ्यांक दिएको थियो । तर, विश्व स्वास्थ्य संगठनको तथ्यांकमा यो संख्या झण्डै तीन गुणा बढी अर्थात ८,४७९ छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक दशक अघि (सन् २०१३) को तथ्यांकको तुलनामा अहिले नेपालमा ७१ देखि ७७ प्रतिशत दुर्घटना बढेको छ  ।

नेपालले संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको ‘सडक सुरक्षा दशक २०२१–२०३०’ लाई समर्थन गरेपनि उक्त विश्वव्यापी योजनाका सिफारिस तुरुन्तै कार्यान्वयन गर्न तत्परता नदेखाएको विज्ञहरु बताउंछन् । न त उसले दशकका लागि यथार्थपरक प्रक्षेपण लक्ष्य तय गर्ने राष्ट्रिय रणनीति नै तय गरेको छ ।

विश्वमा एक दशकअघिको तुलनामा करिब ५ प्रतिशत सडक दुर्घटना घटिरहेको देखाएको छ । विश्वका १०८ देशले दशकअघिको दुर्घटनामा २ देखि ५० प्रतिशत घटेको तथ्यांक सार्वजनिक गरेका छन् । तर, नेपालमा यस विपरित दुर्घटना झन् कहालीलाग्दो रुपमा बढिरहेको छ । सडक दुर्घटनाका सवालमा नेपाल उल्टो दिशामा गइरहेको देखिन्छ ।

बेलायतस्थित एकजना अनुसन्धानकर्ता तथा सडक सुरक्षाविज्ञ डा. पुष्पराज पन्त नेपालले सडक सुरक्षा पूर्वाधार निर्माण र नीतिगत कार्यान्वयनमा बेवास्ता गरेकाले नेपालमा दुर्घटना बढिरहेको बताउंछन् । आमनागरिकको दायित्व पनि यसमा प्रमुख छ ।

डा. पन्त सडक सुरक्षा व्यवस्थापनको उच्च निकाय स्थापना, ट्राफिक कानून कार्यान्वयन क्षमता वृद्धि, सबै प्रकारका सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न विद्यमान सडक पूर्वाधारमा सुधार, तथ्यांकको गुणस्तर र रिपोर्टिङ सुधार, दुर्घटनापछि हेरचाहमा सुधार जस्ता पक्षमा ध्यान दिइनुपर्ने सुझाव दिन्छन् ।

आफूसहित अभियन्ताहरुको  एक  समूहले गत असारमा नेपालका सातै प्रदेशका मुख्यमन्त्रीलाई खुला पत्र लेख्दै सडक सुरक्षा परिषद् गठन गरी चौबीसै घण्टा सडक सुरक्षा हेर्ने निकाय बनाउन अनुरोध गरेको पन्तले स्मरण गरे । तर, कुनै पनि प्रदेश सरकारले सार्वजनिक यातायात सुरक्षित गर्न अहिलेसम्म कुनै ठोस काम गरेका छैनन्।

नेपालमा बढ्दो दुर्घटनाले मानिसको मृत्यु र चोटपटकमात्रै होइन्, सामाजिक र आर्थिक नोक्सानी समेत बढाइरहेको छ । अर्थशास्त्रीहरूले नेपालमा सडक दुर्घटनाबाट हुने आर्थिक नोक्सानी प्रत्येक दशकमा तीन गुणा बढेको अनुमान गरेका छन् । यो नोक्सानी सन् २००७ मा ४१ मिलियन अमेरिकी डलर थियो तर सन् २०१७ मा १२३ मिलियन अमेरिकी डलर पुगेको अनुमान गरिएको छ ।

सडक दुर्घटनाका कारण हुने अपांगताको गम्भीरता र प्रकारको तथ्यांक अझै उपलब्ध छैन । परिवारका सदस्य गुमाएका वा दुर्घटनामा बाँचेर पोस्ट–ट्रम्याटिक तनाव अनुभव गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पर्ने असरबारे बहस नेपालमा सुरु भएकै छैन ।

देशको भौगोलिक बनावट, सडक सञ्जाल र पूर्वाधार, यातायातका साधन र यात्रुको चाप आदि सडक दुर्घटनाका कारण छन् ।

गत आर्थिक वर्ष (२०७८-७९) मा प्रहरीले देशभरि करिब २५ हजार अर्थात् दैनिक औसत ६७ का दरले सडक दुर्घटना रेकर्ड गरेको छ । 

सरकारी तथ्यांकमात्र हेर्ने हो भने पनि संघीय गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयनमा आएको झण्डै ९ वर्ष अवधिमा देशभर करिब ८ लाख मानिस सडक दुर्घटनामा परेर घाइते भएका छन् भने अनुमानित ३० हजार जनाले अकाल र अल्पायुमा ज्यान गुमाएका छन् ।

बेलायतमा किन न्यून छ सडक दुर्घटना ?



तथ्यांक अनुसार संयुक्त अधिराज्य (यूके) भर ५ लाख किलोमिटरभन्दा बढी मोटरयोग्य सडक सञ्जाल छ र ३ करोड ९० लाखभन्दा बढी मोटरयुक्त यातायातका साधनहरु छन् । 

यहाँको जनसंख्या ६ करोड ७० लाख हाराहारी छ भने यसको भौगोलिक क्षेत्रफल नेपालभन्दा लगभग पौने दुई गुना (२४८,५३२ वर्ग कि.मि.) ठूलो छ । तर, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०२१ मा सडक दुर्घटनाबाट यहाँ जम्मा १ हजार ६०६ जनाको मृत्यु भएको र सडक दुर्घटनाबाट हुने मृत्युदर जम्मा २ (दुई जना) प्रति एक लाख जनसंख्या रहेको देखाएको छ ।

अर्कोतिर जम्माजम्मी यूकेको भन्दा ५ भाग मात्र सडक संजाल भएको, यूकेको तुलनामा १० प्रतिशत मात्र मोटरवाहनहरु भएको र यहाँको भन्दा आधा जनसंख्या भएको नेपालमा विश्व स्वास्थ्य संगठनकै तथ्यांक अनुसार सन् २०२१ मा ८,४७९ जनाको सडक दुर्घटनामा मृत्यु भएको र मृत्युको दर २८ प्रति एक लाख जनसंख्या रहेको कहाली लाग्दो तथ्यांक छ ।

संयुक्त अधिराज्यमा सडक दुर्घटनाको दर नेपालको तुलनामा १० प्रतिशत पनि छैन । यद्यपि यहाँका मानिसहरु यहाँको सडक सुरक्षाबाट चिन्तित नै छन् तर नेपालको महामारीसँग तुलना गर्ने हो भने यहाँका सडक निक्कै सुरक्षित छन् ।

सडक सुरक्षाविज्ञ डा. पुष्पराज पन्तको बुझाइमा यहाँका सडक सुरक्षित रहनुको मुख्य कारण निम्न छन्ः

१) गोलघुम्तीहरु, छुट्ट्याइएका लेनहरु र सडक सतहको उचित मर्मत सम्भार गर्ने जस्ता कार्यबाट सडक संरचनालाई सुरक्षित बनाउन ध्यान दिइएको छ ।

२) सडकमा सवारी गति सीमामा कडाई, चालक अनुमति पत्रका लागि  गरिने परीक्षणमा कडाई, निरन्तरको ट्राफिक नियम कार्यान्वयन र पालना गरिन्छ ।

३) अनिवार्य हेल्मेट र सिटबेल्ट प्रयोग लगायत यातायातका साधनमा जडान हुने सुरक्षा उपकरणको कठोर नियमन गरिन्छ ।

४) सडक सुरक्षाका जोखिम पहिचान गरी तिनको निराकरण गर्ने र सुरक्षित व्यवहारका लागी निरन्तरका सचेतना कार्यक्रम सञ्चालन गरिन्छ ।

यस अतिरिक्त सुरक्षित किसिमले सडक प्रयोग गर्ने संस्कारको अवलम्बन गरि भरसक दुर्घटना हुनै नदिने गरि धेरैभन्दा धेरै सरोकारवालाहरुलाई कसरी समन्वयका साथ परिचालन गर्ने प्रष्ट लक्ष्यसहित रणनीति र कार्ययोजना तथा त्यसको सफल कार्यान्वयनका लागि बजेट व्यवस्था गरेर कार्य गरिरहेका हुनाले यहाँ सडक दुर्घटना र त्यसबाट हुने हताहति निकै कम रहेको बताउंछन् डा. पन्त ।

विज्ञहरु भन्छन्, नेपाल र संयुक्त अधिराज्यबीच सोझो तुलना गर्नु उचित नभए पनि राज्यले आफ्ना नागरिक (र आफ्नो भूमिमा यात्रा गर्ने सबै) को सुरक्षाका लागि के कस्तो संवेदनशीलता र दायित्वबोध गरेर सरोकारवाला निकायहरूबीच समन्वय, भौतिक संरचनाको मापदण्ड र स्तरोन्नति, सडक सुरक्षाको कानूनी प्रावधान र नीति-नियम कार्यान्वयनका लागि संस्थागत संरचना बनाउंछ ? प्रश्न चिन्ह टड्कारो छ ।

डा. पन्त सवारी चालक अनुमतिपत्र लिन आवेदक मोटरवाहन चालकहरुको सीप र दक्षता सुनिश्चित गर्ने, यातायातका साधनहरुको गुणस्तर मापदण्ड तोक्नुका साथै जनशक्ति र आर्थिक स्रोत सुनिश्चित गर्न के कस्ता कार्यक्रमहरु संचालन गरेको छ ? त्यसले सडक यात्राका दौरान हुने दुर्घटना रोकथाम गरि अकालमा घाइते, अपाङ्ग वा मृत्यु हुने क्रमलाई सम्बोधन गरे-नगरेको मुल्यांकन गर्न आवश्यक भएको बताउँछन् । “विडम्वना, नेपालमा यस्तो संवेदनशीलता देखिँदैन,” उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू