आइतबार, १९ अप्रिल, २०२६
13:01 | १७:४६

तमुधिं यूकेको ‘गुडविल एम्बासडर’ नियुक्त भइन् कराते स्टार एरिका

नेपाली लिङ्क मार्च २३, २०२६

काठमाडौं- बेलायतको प्रभावशाली नेपाली संस्था तमुधिं यूकेले नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङलाई ‘गूडविल एम्बासडर’ (सद्भावना दूत) नियुक्त गरेको छ ।

नेपाली खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले तमुधिं यूकेले कराते खेलाडी एरिकासंग एक वर्षे प्रायोजन सम्झौता गरेको हो। सोमबार दशरथ रंगशालास्थित कराँते महासंघमा आयोजित एक कार्यक्रमबीच उनलाई गुडविल एम्बासडर घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वभर चिनाउन सफल एरिकालाई सम्मान र प्रोत्साहनका लागि यो जिम्मेवारी प्रदान गरिएको कार्यक्रममा सहभागी तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङले बताए ।

यस सम्झौताअनुसार तमुधिं यूकेले एरिकालाई आवश्यक खेल पोशाक, ट्र्याकसुट तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन हवाई टिकट खर्च व्यहोर्नेछ। साथै प्रत्येक प्रतियोगिताका लागि आर्थिक सहयोग पनि प्रदान गरिनेछ।

एरिका गुरुङले विश्व कराते महासंघ र एसियन कराते महासंघअन्तर्गत हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनेछिन्। ती प्रतियोगितामा चीन, मोरक्को, इन्डोनेसिया, बंगलादेश, जापान, अस्ट्रियालगायतका देशमा आयोजना हुने खेलहरू समावेश छन्।

सम्झौताअनुसार एरिकाले आवश्यक सामाजिक तथा संस्थागत कार्यक्रममा सहभागिता जनाउनुका साथै प्रतियोगितापछि संस्थाको प्रचारप्रसारमा सहयोग गर्नुपर्नेछ।

यो सम्झौता हस्ताक्षर भएको मितिबाट एक वर्षसम्म लागू रहनेछ र उत्कृष्ट प्रदर्शनका आधारमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यक्रममा कराँते महासंघका पदाधिकारी, तमुधिं यूकेका उपाध्यक्ष कमलसहितका प्रतिनिधिहरू र खेलाडीहरूको उपस्थिति थियो ।

तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले ‘गुडविल एम्बासडर’ का रुपमा कराते स्टार एरिकासंग सहकार्य गर्न पाउँदा तमुधिं यूके गौरवान्वित भएको बताएका छन् । भविष्यमा पनि खेलकुद र अन्य क्षेत्रबाट समेत अन्तरराष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने पात्रहरुलाई सम्मान र हौसला प्रदान गर्न तमुधिं यूके सधैं तत्पर रहने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू