बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

बीसीसी यूकेले विविध धार्मिक कार्यक्रमसहित तमु ल्होछार मनाउँदै

नेपाली लिङ्क डिसेम्बर १९, २०२३


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाउन लागिएको हो ।

नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो किरण तुलाचनको विशेष उपस्थितिमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दीप प्रज्ज्वलन, घ्यासी, आयू, छोग, घनचक्र पूजासाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम छ ।

ल्होछारका दिन आमन्त्रित खेन्पो किरण, खेन्पो छेवाङ, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने छन् ।  

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यसवर्ष विश्वभर रहेका गुरुङहरुले बिरोलो वर्गलाई बिदाई गर्दै गिद्ध वर्गको स्वागत गर्ने क्रममा उक्त धार्मिक पूजापाठ गर्न लागिएको बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले जानकारी गराए ।  

कार्यक्रममा तमुधिं यूके, मगर संघ यूके, तामाङ सोसाइटी यूके, थकाली समाज यूके, ह्योल्मो समाज यूके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए यूके, शेर्पा एशोसिएशन यूके, तमुधिं लण्डन ईकाई, साउथ ईष्ट रिजनल तमुधिं लण्डन, तमुधिं ह्यामसायर ईकाई, लमजुङ समाज यूके, तमु प्ये ल्हु संघ यूके, स्थानीय नेपाली र धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्चलगायत संघसंस्थालाई आमन्त्रण गरिएको छ । 

बिहान ९ देखि साँझ ५ बजेसम्म संचालन हुने सो कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर आइतबार ३१ डिसेम्बर बिहान ११ बजेभित्र गुम्बामा ल्याइदिन बीसीसी यूकेले अनुरोध गरेको छ । 

साथै, सो कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । 

बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुखलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले विशेष जिम्मेवारी लिएको संयोजक क्याप्टेन घलेले बताए ।

उनले उक्त दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सबैमा अनुरोध पनि गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू