शनिबार, साउन १२, २०८१
07:17 | १२:०२

मह जोडीले आफ्नो कार्यक्रममा आउन बेलायतका दर्शकलाई दिए निम्तो

नेपाली लिङ्क डिसेम्बर १५, २०२३

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् ।

‘मह जोडी यूके टुर’ का लागि बेलायत आउने तयारी गरिरहेको मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हुन् ।

भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरेका छन् ।

बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि मह जोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन् ।

मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ ।

सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर, काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए ।

‘कार्यक्रमप्रति दर्शकहरुको एकदम सकारात्मक रेस्पोन्स पाएका छौं’, उनले भने, ‘हामी हाउस फुल होस् भन्ने आशा राख्दछौं । बेलैमा टिकट लिए तपाईंहरुले डिस्काउन्टमा खरिद गर्न सक्नुहुन्छ, आउनुस् सबै महसंगै कार्यक्रममा रमाऔ ।’

तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ । विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने उनले जनाए ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए । कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।

ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक जुटाउन आयोजक टिम दिनरात खटिएको छ ।


कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रहसन कार्यक्रमअघि लन्डनस्थित नेपाली दूतावासले पनि स्वागत गर्ने भएको छ ।  

सेन्टरका अध्यक्ष भीम तामाङले मह जोडीलाई कार्यक्रमबाहेक नेपाली समुदायका अग्रजहरुसंग भेटघाट, हिन्दू, बुद्धिष्ट, मुस्लिम र इसाइ धर्मावलम्बीहरुका आस्थाको केन्द्र अवलोकन भ्रमण, ब्रिटिश सैनिक मुख्यालय भ्रमण, पत्रकार सम्मेलन आदि गराउने योजना बनाइएको बताए ।

‘करिब एक साता बेलायतमा रहंदा उहांहरुले केही नयां कुरा पनि एक्सप्लोर गर्नुहोस् भन्ने हाम्रो आकांक्षा छ’, तामाङले भने ।    

उनले बेलायतवासी नेपाली दर्शकहरुलाई ‘गुडकज’ उद्देश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् ।

बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको सेन्टरले जनाएको छ ।

सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू