शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ यूके अध्यक्षमा बराल

नेपाली लिङ्क डिसेम्बर १४, २०२३

लन्डन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल चयन भएका छन्।

खानाको अनुसन्धान र खोजीमा दक्ष मानिने सेफ तथा व्यवसायी बरालले यूके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तिकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच  सामाजिक एवं आर्थिक दुवै क्षेत्रमा ब्रीजको काम गर्न आफू लागि पर्ने नवनियुक्त अध्यक्ष बरालले बताए।

संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफूले कडा मेहनत र परिश्रमकासाथ् अघि बढ्ने पनि उनले बताए । बरालले अन्य युवा उद्यमीहरूलाई सशक्तिकरण तथा प्रोत्साहित गर्न सहकार्यका लागि संस्थामा आवद्ध हुन सबै युवाउद्यमीहरूलाई आव्हान गरेका छन्।

फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो । यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्।

उक्त संस्था व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यले नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानको साझा मञ्चको रुपमा छ।

बराल फिने बेलायत अध्यक्षमा चयन भएकामा खुसी व्यक्त गर्दै फिने बेलायतकी संस्थापक अध्यक्ष मनिषा डंगोल श्रेष्ठले भनिन्, ‘संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने यूकेलाई अझ अगाडि बढाउन विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा आगामी दिनमा यस संस्थाको अझ प्रगति हुनेमा म विश्वस्त छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू