शनिबार, साउन १२, २०८१
03:11 | ०७:५६

मिडल्यान्डका नेपालीले गरे रविसंग अन्तरक्रिया, लगाइएन खादा माला

नेपाली लिङ्क डिसेम्बर ११, २०२३

लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सोमबार मिडल्यान्डका नेपालीसँग अन्तरक्रिया गरेका छन्।  

बर्मिङहमस्थित ‘द ब्रिटानिया इन’ मा भेला भएका चार सय बढी नेपालीलाई उनले सम्बोधन गरे। लामिछानेले कार्यक्रमका सहभागीले राखेका प्रश्नहरुको पनि जवाफ दिए।

त्यस क्रममा सभापति लामिछानेले वर्तमान व्यवस्थाबाटै देशको अवस्था परिवर्तन गर्नुपर्ने पार्टीको मान्यता रहेको स्पष्ट पारेका थिए। त्यस्तै, उनले ‘एक पटकको नेपाली सधैंको नेपाली’ रहनुपर्छ भने पक्षमा आफ्नो मत रहेको पनि बताएका थिए।  

रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम महामन्त्री राजु कंडेलले सञ्चालन गरेका थिए भने प्रवक्ता विष्णु चालिसेले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ तथा क्षेत्रीय सभापति गंगा गौतमले स्वागत गरेका थिए। कार्यसमिति सदस्य गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन्।

मिडल्यान्डको अन्तरक्रियामा कुनै खादा, मालाको प्रयोग गरिएको थिएन। सभापति लामिछानेलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको थियो भने उनले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका थिए।  

मञ्चको अगाडिपट्टि सामान्य कुर्सीहरु राखेर सभापतिसहितलाई आसन ग्रहण गराइएको थियो भने मञ्चमा अन्य कुनै सजावट पनि थिएन ।  

रास्वपा सम्पर्क विभाग यूके प्रवक्ता विष्णु चालिसेले अनावश्यक औपचारिकता र खादा मालाको परम्परा हटाउने उद्धेश्य राखिएको बताए ।  

यसअघि सभापति लामिछाने आइतबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिंदा दर्जनौं भेला भएर खादामाला गरेका थिए भने बेलुका स्वीन्डनमा उनी सहभागी कार्यक्रम पनि असुहाउंदो तरिकाले झकिझकाउ र खादा मालायुक्त थियो। 

सामाजिक सञ्जालमा नयाँ पार्टीको शैली पनि पुरानै पार्टीको जस्तो भनेर आलोचना भएपछि रास्वपा यूकेले खादा, माला आफूहरुको योजना नरहेको तर स्वस्फूर्त् रुपमा शुभचिन्तकहरुले प्रयोग गरेको प्रष्टोक्ति दिएको थियो।  

लामिछानेसँग मंगलबार बिहान ११ देखि १ बजेसम्म एशियन कम्युनिटी सेन्टर प्लमस्टिड तथा अपरान्ह ४ बजे एम्पायर हल अल्डरसटमा खुला अन्तरक्रिया हुँदैछन्।  

पत्नी निकिता पौडेल र स्वकीय सचिव एवम् पार्टी केन्द्रीय सदस्य दीपक बोहोराका साथ बेलायत आएका लामिछाने यही डिसेम्बर १४ मा नेपाल फर्किनेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू