शनिबार, असोज २६, २०८१
14:36 | १९:२१

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

रासस डिसेम्बर ६, २०२३

काठमाडौँ, मंसिर २०–‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

काठमाडौँ घर भएका सन्तोष रोका, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार, काभ्रेका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिकाका ३८ वर्षीय द्रोणा डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार उनीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्ग हुंदै भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उक्त गिरोहले प्रतिव्यक्ति ७ लाखदेखि ११ लाख रुपैयाँसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको र नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

उपरीक्षक ढुंगेलले भने, ‘रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका सदस्य हरिबहादुर विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।’ आरोपीले पठाएकामध्ये ११ जना नेपाल फर्किएका छन् ।

पाँच–दश जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीमध्ये केही कन्सल्टेन्सी सञ्चालक पनि छन् । केही कन्सल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्तासमेत सञ्चालन गरेको खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू