शनिबार, साउन १२, २०८१
02:09 | ०६:५४

लन्डनमा ‘डिप्रेसन’ भएर अलपत्र विद्यार्थी उद्दारपछि नेपाल फिर्ता

नेपाली लिङ्क डिसेम्बर ५, २०२३

लन्डन। बेलायतमा मानसिक स्वास्थ्य बिग्रिएर अलपत्र परेका एक नेपाली विद्यार्थी एनआरएनए यूकेको सहयोगमा नेपाल फिर्ता भएका छन्।

मानसिक समस्या भएपछि विगत करिब एक वर्षदेखि ‘होमलेस’ अवस्थामै रहेका २६ वर्षीय उनी मंगलबार नेपाल फर्किएका हुन्।

उनलाई लिनकै लागि नेपालबाट आएका दाजुका साथ उनी नेपाल फर्किएको एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए।  

सिन्धुपाल्चोक मेलम्ची स्थायी घर भएका उनी अध्ययनका लागि डेढ वर्षअघि बेलायत आएका थिए।

बेलायत आएको केही समयमै मानसिक समस्याबाट पीडित बनेका उनी त्यसयता सडक, पार्कहरुमा होमलेसका रुपमा बस्न थालेका थिए। पछिल्लो समय यहाँकै सोसल सर्भिसको सहयोगमा उनलाई उपचारका लागि लन्डनको क्वीन एलिजावेथ अस्पताल भर्ना गरिएको थियो।  

यसअघि उनलाई नेपाल फर्काउन परिवारले कयौँ प्रयास गरेपनि सफल भएको थिएन। केही महिनाअघि नेपालबाट उनका परिवारकै एक सदस्य आएर फर्काउने कोशिश गरेपनि उनले फर्किन अस्वीकार गरेका थिए।

शुरुदेखि नै परिवारको सम्पर्कमा रहेका बुद्ध फाउन्डेसन यूके अध्यक्ष एवम् एनआरएनए यूके निवर्तमान उपाध्यक्ष दीपक श्रेष्ठले धेरै प्रयासपछि नेपाल फर्काउन पाएकोमा खुशी व्यक्त गरे।  

उनलाई नेपाल फर्काउन आवश्यक सहयोगका लागि परिवारले पछिल्लोपटक एनआरएनए यूकेलाई आग्रह गरेको थियो। एनआरएनए यूकेले उनको हवाई टिकट प्रबन्धसहित परिवारको सम्पर्कमा रहेर फिर्ता प्रक्रिया मिलाउन सहयोग गरेको थियो।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले परिवारको चाहनाअनुसार नेपाल फिर्ता गराउन संस्थाले पहल गरेको जानकारी दिए।

उनले हवाई टिकटका लागि आर्थिक सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, निवर्तमान उपाध्यक्षद्वय दीपक श्रेष्ठ र सकुन्तला गुरुङसहित सबैलाई धन्यवाद दिए।  

(परिवारको आग्रहमा नाम र तस्विर गोप्य राखिएको छ – सं.)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू