शनिबार, साउन १२, २०८१
02:16 | ०७:०१

बेलायत आएको चार दिनमै नेपाली विद्यार्थीको निधन

नेपाली लिङ्क डिसेम्बर ४, २०२३


लण्डन- बेलायतको नेपाली समुदायमा अर्को दुःखद घट्ना भएको छ । गत २९ नोभेम्बर बुधबार मात्र पढ्न बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो ।

२२ जनवरी, १९९२ मा जन्मिएकी उनको स्थायी घर ओरेष्टे ४ बिरुवा स्याङ्जामा रहेको बताइएको छ । 

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी ३१ बर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी ख्वाएर राखिएको थियो । 

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको काइंला बाबालाई कल गरेर कमला बितेको खवर दिएका थिए । 

त्यसपछि रेडिङमै बस्ने मिडियाकर्मी विषन गुरुङले गैरआवासीय नेपाली संघ बेलायत (गाहामगर समूह) अध्यक्ष प्रेम गाहामगरलाई ९ बजे फोन गरेर सहयोगका लागि अपिल गरे ।

अनि गाहामगरले रातीनै कमलाका श्रीमान् निरज गुरुङलाई फोन गरेर सान्त्वना दिंदै ‘तपाईं यहाँ आउनुस् के कस्तो सहयोग गर्न सकिन्छ गरौंला’ भनेर वाचा गरेका थिए । 

गाहामगरले स्वर्गीय कमलाका श्रीमान् निरज गुरुङ भोलि ५ डिसेम्बर दिउँसो २ बजे लण्डन आइपुग्ने बताए । श्रीमान् निरजको भिसा आउन ४ दिन ढिलाई भएकाले उनीहरु संगै बेलायत आउन पाएका थिएनन् । 

अध्यक्ष गाहामगरले स्याङ्जा समाज यूकेका नवनिर्वाचित अध्यक्ष भरत गुरुङ र ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी अध्यक्ष भिमसेन खड्कालाई राती नै इमेल र फोन गरेर सहयोगका लागि संयुक्त पहल गर्न आग्रह गरेका छन् ।

गाहामगरले स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरे । ‘म यस घडीमा गहिरो दुःख व्यक्त गर्दछु’- गाहामगरले भने- ‘यति कलिलो उमेरमै उनलाई गुमाउनु समुदायका लागि पनि ठूलो क्षति हो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू