शनिबार, साउन १२, २०८१
07:05 | ११:५०

‘मह’ जोडीको बेलायत आगमन डिसेम्बर तेश्रो साता

नेपाली लिङ्क डिसेम्बर ३, २०२३

लन्डन । बेलायतमा ‘मह जोडी यूके टुर’ को तयारी तीव्र रुपमा भएको छ । 

बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका लागि नेपालका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) बेलायत आउन लाग्नु भएको जनाएको छ । 

कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको जानकारी दिए । 

मह जोडीको भिजा लागिसकेको र उहाँहरु यही २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि उनले जनाए ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत र अल्डरसट कार्यक्रममा गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई समेतको प्रस्तुति रहने तामाङले बताए । बीच बीचमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।

अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले बताए । दर्शकहरुले अनलाइन तथा प्रवेशद्वारमा पनि टिकट खरिद गर्न सक्नेछन् ।


बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको तामाङले बताए । 

मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ । ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक आउने अपेक्षा सेन्टरको छ । 

‘द गोर्खा सेन्टरले स्थापनाकालदेखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ’, तामाङले भने, ‘उहांहरुप्रति हाम्रो सहयोग निरन्तर जारी छ । गोर्खा सेन्टरले गरिरहेका कामहरुलाई निरन्तरता दिन कोष अभिवृद्धिका लागि ‘मह जोडी यूके टुर’ गर्न लागेका  हौं ।’   


नेपालका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताए ।

‘नेपालका राष्ट्रिय धरोहर मह जोडीको बेलायत आगमन हामी समस्त बेलायतवासी नेपालीका लागि गर्वको विषय हो । हामी यो कार्यक्रम ‘मिस’ नगर्न सबैमा अपिल गर्दछौं’, तामाङले पत्रकार सम्मेलनमा भने, ‘तपाईंको उपस्थिति हाम्रा लागि एउटा महत्वपूर्ण उर्जा पनि हुनेछ ।’ 

अल्डरसट कार्यक्रमका लागि स्वयंसेवक संयोजन गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू