शनिबार, साउन १२, २०८१
11:39 | १६:२४

लन्डन आउंदै मह जोडी, पहिलो कार्यक्रम ह्यारोमा

नेपाली लिङ्क नोभेम्बर २९, २०२३

वरिष्ठ हाँस्यकलाकारद्वय । तस्बिर- भेषराज कार्की/रासस

लन्डन । नेपालका वरिष्ठ तथा लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी प्रहसन कार्यक्रमका लागि बेलायत आउने भएको छ ।

बेलायतस्थित गोर्खा भेट्रान र तिनका परिवारहरुको कल्याण एवं हकहितका लागि समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह जोडीलाई बेलायत निम्त्याएको हो ।

सदावहार कलाकार मदनकृष्ण र हरिवंश झण्डै ९ वर्षपछि कार्यक्रम प्रस्तुत गर्न बेलायत आउने भएका हुन् ।

सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भिजा लागिसकेको र उनीहरु २० डिसेम्बरमा लन्डन आउने योजना बनाइरहेको जानकारी दिए ।

‘मह जोडी यूके टुर’  लन्डन ह्यारोबाट शुरु हुनेछ । ह्यारो लिजर सेन्टर बाइरन हलमा आउंदो २३ डिसेम्बर, २०२३ दिउसो ४ देखि ८ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ३५ पाउण्ड छ ।

यस कार्यक्रममा चर्चित गायक प्रकाश सपुतलाई समेत सहभागी गराउन छलफल भइरहेको तामाङले बताए ।  

दोश्रो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा आउंदो २४ डिसेम्बर आइतबार हुने तय भएको छ । समय र टिकट मूल्य समान छ ।

च्यारिटी उद्देश्यले गर्न लागिएको मह कार्यक्रममा सहभागी भएर मनोरन्जनसंगै गोर्खा भेट्रान समुदायलाई सहयोग गरिदिन आयोजक द गोर्खा सेन्टरका सिइओ भीम तामाङले सबैमा अपिल गरेका छन् ।

‘हाम्रो कार्यक्रम व्यवसायिक भन्दा पनि च्यारिटी केन्द्रित हुनेछ’, तामाङले भने, ‘यसलाई सफल बनाउन सयौं स्वयंसेवक साथीहरु लागिरहनु भएको छ । तपाईं समस्त बेलायतवासी नेपालीको सहभागिताले हामीलाई थप हौसला मिल्नेछ ।’  

सेन्टरले स्पोन्सर गर्न इच्छुकलाई सम्पर्कका लागि आव्हान पनि गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू