शनिबार, साउन १२, २०८१
05:52 | १०:३७

एनआरएनए निर्वाचनमा धाँधली भएको बताउंदै पुन: निर्वाचन गर्न आरके शर्मा समूहको माग

नेपाली लिङ्क नोभेम्बर २८, २०२३


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा धाँधली भएको बताउंदै पुन: निर्वाचन गर्न माग गरेको छ । 

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शर्माले अनलाइन निर्वाचनमा योजनाबद्ध धाँधली गरेका प्रमाणहरु फेला परेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।

‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरुसहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौं। तर अहिले पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन। प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन’, शर्माले भने, ‘त्यसैले संसारभरि रहेका लाखौं गैरआवासीय नेपालीहरुको भावनासंग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूहविरुद्ध कडा कारवाही गर्न माग गर्दछौं।’

शर्माले महाधिवेशनको ‘म्यान्डेट’ नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरुलाई मान्य नहुने बताए ।

शर्माले उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शुन्य भएको र यस समवन्धमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिएपनि पछि मतपत्र चेक गर्दा नाममा फरक नभएको देखिएको बताए । तर, पछिको स्पष्टिकरणमा सिस्टम ब्याक एण्डमा ‘इन्टिग्रेशन मिस्टेक’ भएको भनिएपनि यो स्पष्टिकरणले सिस्टमप्रति नै झन गम्भीर आशंका पैदा गरेको उनले बताए ।

यस्तै सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या बराबर हुनुपर्नेमा फरक फरक भएको उनले बताए ।  

यसैगरी नेपालमा आउने प्रतिनिधिहरुले अनिवार्य काठमाडौँको सोल्टी होटलको वुथवाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालवाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनुपर्नेमा फरक भएको उनले बताए ।

विधानको दफा २१ः७ अनुसार अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएपछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि नियमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन नियमावलीमा व्यापक परिवर्तन गरिएको उनले बताए । 

यस्तै अनलाइन भोटिङको फेस भेरिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९५ वाट घटाएर ६५५ बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनले पत्रकार सम्मेलनमा बताए । 

यसैगरी फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशत भन्दा कम गरिनु फेस भेरिफिकेसनको अन्तरराष्ट्रिय मापदण्ड विपरित भएको र निर्वाचनको वीचमै यसरी निर्वाचन प्रकृया परिवर्तन गरिनु निर्वाचन नियमावलीको पनि उल्लंघन भएको उनले बताए ।  

सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीवाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुनसक्ने आशंका आफूहरुलाई रहेको उनको भनाइ छ ।

नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामबाट विदेशवाटै अर्कैले मतदान गरिसकेको प्रमाण भेटिएकाले अनलाइन भोटिङ सिस्टमको विश्वसनीयतामा गम्भीर आशंका पैदा गरेको शर्माले बताए ।

निर्वाचनमा नेपालको समय राति १२ वजेसम्म जुम माध्यमवाट पनि मतदान गर्ने व्यवस्था गरिएपनि १२ वजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानवाट वञ्चित गरिएको शर्माले जिकिर गरे । 

कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ वजेसम्म आफ्ना प्रतिनिधिलाई जुममार्फत मतदान गर्न लगाई जुमभित्र पसिसकेका बाँकी ५४ जना प्रतिनिधिलाई मतदानवाट वंचित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित रहेको शर्माले दाबी गरे ।

पुनः निर्वाचन गराउन माग


अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौँस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीनजना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुई साताभित्र छानबिन गर्ने सहमति भएको शर्माले बताए ।

तर, उक्त सहमतिलाई उलंघन गरेर पूर्व अध्यक्ष बद्री केसीले आफैलाई अध्यक्ष घोषणा गरेकाले त्यसमा आफूहरुको आपत्ति रहेको उनले बताए । संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको शर्माले जोड दिए ।

निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको शर्माले बताए । ‘जसको बारेमा गम्भीर आरोप लगाइएको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने जस्तो  सर्त सहितको छानविन समिति बनाउने भन्ने प्रस्ताव हामी सरासर खारेज गर्दछौं’, शर्माले भने ।

११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको कुरा आफूहरुले उठाउंदै आएको शर्माले बताए । ‘एनसीसी रसिया, एनसीसी किर्गिस्थान, दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको थाहा भएको छ । त्यस्तै संघको विधान तथा प्रतिनिधि व्यवस्थापन सम्वन्धी नियमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै प्रतिनिधिको नामावली सम्वन्धित एनसीसी अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएपनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको थाहा हुन आएको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

‘त्यस्तै तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधि चयन नभएसम्म एनसीसी युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नुका साथै एनसीसी युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाएपछि मात्र एनसीसी युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको साथै  विधान र नियमावलीले दिएको मिति भन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको छ’-शर्माले भने 

शर्माले अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको रिपोर्ट आफूहरुले आधिकारिक रुपमा नपाएको पनि बताए । तर, संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाण रहेको उनको भनाइ छ ।

एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले वद्री केसी समूहले योजनाबद्ध धाँधली गरिएका प्रमाणहरूसहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको तर त्यसमाथि अहिलेसम्म सुनुवाइ नभएको भन्दै आवश्यक परे अदालत जाने बताए । उनले केसी समूहलाई कारबाही गरिने पनि चेतावनी दिए ।  

यसैगरी युरोप संयोजक चिन्तामणि सापकोटाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा नै एकलौटी गरिएको आफूले पहिलादेखि उठाउँदै आएको उल्लेख गरे । 

आजै पछिल्लो विवादबारे परराष्ट्र मन्त्रालयमा निवेदन दिएर आएको पनि जानकारी दिए ।

युरोप सहसंयोजक भिमसेन थापाले एनआरएनएको विषयमा सिबीआईको रिपोर्टले पनि धाँधली भएको पुष्टि गरेकाले छानविन गरेर नयाँ तरिकाले अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासचिव बुद्धिसागर सुवेदीले नेपालीहरुको सुखदुखमा गैरआवासीय नेपाली संघ सदैव साथै रहेको बताए । सोहीअनुसार जाजरकोट पुगेर भूकम्प प्रभावित जनसमुदायलाई राहत वितरण गरिएको बताउँदै उनले एनआरएनएको टोलीले भूकम्प प्रभावित समुदायलाई पहिलो चरणमा २ हजार थान कम्बल, ५ सय थान त्रिपाल, ४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको जानकारी दिए । उनले अध्यक्ष शर्माले आउँदो दुई वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेको पनि जानकारी दिए । 

पत्रकार सम्मेलनमा शर्मा समूहका पदाधिकारी र अभियन्तालगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू