शनिबार, साउन १२, २०८१
07:08 | ११:५३

वार्तास्थल बाहिर राजदूतसहित गोर्खा अभियन्तामाथि अभद्र व्यवहार

नेपाली लिङ्क नोभेम्बर २२, २०२३

लन्डन । भूतपूर्व गोर्खा मुद्धामा बुधबार भएको त्रिपक्षीय वार्ता सकिएपछि बाहिर अशोभनीय व्यवहार प्रदर्शन भएको छ ।

वार्ताको छलफलका निष्कर्ष सुनाउने क्रममा बेलायती रक्षा मन्त्रालय बाहिर चितवनका विष्णु गुरुङ र भैरहवाका टिका कुंवरले राजदूत ज्ञानचन्द्र आचार्यसहित गोर्खा अभियन्तामाथि अभद्र व्यवहार गरेको एक प्रत्यक्षदर्शीले जनाए ।

वार्तामा गोर्खाहरुका मध्यस्तकर्ता मेजर (रि.) जुदबहादुर गुरुङले अपडेटसहित पेन्सन मुद्दामा अर्को पटक छलफल हुने बताएपछि सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई बोल्ने क्रममा उनीहरुले ‘वार्ता वार्ता, पेन्सन भनेर सधैं कति झुक्याउने हो ? कति दुःख दिने ?’ भन्दै जाइलागेका थिए ।

विष्णु गुरुङ आक्रोशित हुंदै भीडतर्फ अगाडि बढेपछि उनलाई सत्याग्रहकी महासचिव सइन्द्र केसीले रोक्न खोज्दा उनीमाथि नै हातपात भयो । एक महिलामाथि भएको उक्त व्यवहार निन्दनीय भएको सहभागीले टिप्पणी गरेका छन् ।

त्यसपछि सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रतिवाद गर्दै प्रहरी बोलाएपछि ति दुईजना भागेको बताइएको छ । सत्याग्रहका प्रमुख संयोजक राईले ति मान्छे कोबाट परिचालित हो पत्ता लगाएर आवश्यक कानूनी कारवाही बढाइने समेत बताए । ‘राजदूतसहित हामीमाथि भएको यस्तो हर्कत निन्दनीय छ’, उनले भने ।

वार्ता अगाडि बढिरहेकै बेला यस्तो अशोभनीय व्यवहार प्रदर्शन भएपछि यसले नकारात्मक सन्देश गएको कतिपयको बुझाइ छ ।

‘उनीहरुको माग जायज होला तर प्रस्तुत हुने शैली बेलायतजस्तो सभ्य समाजमा अस्वीकार्य छ’, एक प्रत्यक्षदर्शीले भने ।

यसैबीच, बुधबार दिउंसो लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा भएको बेलायत र नेपालबीचको सरकारस्तरीय वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

वार्तामा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भएको दूतावासले जनाएको छ । आजको बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री मरिसनले गरेका थिए ।

भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै कृष्णबहादुर राई, धर्म तामाङ र मेजर (रि.) जुदबहादुर गुरुङ सहभागी भएका थिए।

साथै नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू