शनिबार, साउन १२, २०८१
15:40 | २०:२५

पासा पुचः गुठी यूके, लन्डनले भव्यसंग मनायो नेपाल सम्वत् ११४४

नेपाली लिङ्क नोभेम्बर २१, २०२३

लन्डन । पासा पुचः गुठी यूके, लन्डनले एक कार्यक्रमबीच न्हूदँ नेपाल सम्वत् ११४४ मनाएको छ ।

गत १८ नोभेम्बर शनिबार लन्डनस्थित ग्रीनफोर्ड हलमा नेपाल सम्वत् ११४४ समारोह भएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं.९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल सम्वत् सुरु गरेका थिए । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

कार्यक्रममा तीनसय बढीको उत्साहजनक सहभागिता थियो । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी थिए । सो अवसरमा पाहुनालाई पञ्चकन्याबाट परम्परागत टिका र जजन्का प्रदान गरियो भने समय बजी पनि ख्वाइएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन राजदूत आचार्य, पासा पुच गुठी यूके बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशील प्रजापति र पासा पुचः गुठी यूके लन्डनकी अध्यक्ष श्रीमती रुक्मणी मानन्धरले संयुक्त रुपमा गरेका थिए । उनीहरुले वार्षिक गुठी पत्रिका पनि विमोचन गरे । उक्त पत्रिका विगत २३ वर्षदेखि पासा पुचः गुठी यूकेले प्रकाशन गर्दै आएको छ ।

सो अवसरमा कार्यक्रमको मुख्य आकर्षण बने सामाजिक अभियन्ता महन्त श्रेष्ठ । संस्थाका संस्थापक सदस्य श्रेष्ठले लन्डन बरोमा नेपाली र बेलायती समुदायका लागि उत्कृष्ट सेवा गरेवापत बेलायती राजा चार्ल्स तृतीयबाट अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीइ) प्राप्त गरेकामा संस्थाका तर्फबाट विशेष अभिनन्दन गरिएको थियो ।

सो अवसरमा भिन्तुना र्‍याली, कुमारी नृत्य, महाकाली नृत्य, लाखे नृत्य, विभिन्न नेवा र नेपाली गीत, नृत्य प्रस्तुत गरिएको थियो ।

कुतह ब्यान्ड र प्रयास ब्यान्डले प्रस्तुत गरेको प्रत्यक्ष गीत-संगीत लगायत मनमोहक सांस्कृतिक प्रस्तुतिले नेपाल सम्वत् उत्सव अझ रोमाञ्चक बनेको थियो । हलमा लाखे र पुलुकिसीसहित धिमे र भुस्याको तालमा कुमारीलाई परिक्रमा गराइंदा यसले अझ मौलिकता थपिरहेको भान हुन्थ्यो ।

कार्यक्रममा उत्कृष्ट प्रस्तुतिका लागि सबै कलाकारहरुलाई मायाको चिनोले सम्मान गरियो ।

कार्यक्रममा ‘राफल ड्र’ पनि खेलाइएको थियो । उपाध्यक्ष ओजेश सिंहले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

तस्विरहरुः कुशल श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू