शनिबार, साउन १२, २०८१
10:12 | १४:५७

बेलायती गृहमन्त्री ब्रेभरम्यान पदमुक्त, पूर्व प्रम क्यामरन विदेशमन्त्री नियुक्त

नेपाली लिङ्क नोभेम्बर १३, २०२३

बेलायती प्रधानमन्त्री ॠषि सुनाकले गृहमन्त्री सुएला ब्रेभरम्यानलाई पदमुक्त गरेका छन् भने पूर्व प्रधानमन्त्री डेभिड क्यामरनलाई विदेशमन्त्री नियुक्त गरेका छन्।

लन्डन- पछिल्लो समय विवादमा परेकी बेलायत सरकारकी गृहमन्त्री सुएला ब्रेभरम्यान पदमुक्त भएकी छन् । प्रधानमन्त्री ॠषि सुनाकले उनलाई हटाएर विदेशमन्त्री जेम्स क्लेभर्लीलाई नयाँ गृहमन्त्री नियुक्त गरेका छन्।

यसैबीच, सरकारको नयाँ विदेशमन्त्रीमा पूर्व प्रधानमन्त्री डेभिड क्यामरन नियुक्त भएका छन्। सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहेका क्यामरन सन् २००५ देखि सन् २०१६ सम्म कन्जरभेटिभ पार्टीका लिडर थिए।   

यसअघि गतसाता तत्कालिन गृहमन्त्री ब्रेभरम्यानले बेलायत प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै एक अखबारमा लेख प्रकाशित गरेपछि उनको चर्को आलोचना भएको थियो।

मन्त्री ब्रेभरम्यानले आफ्नो लेखमा बेलायती प्रहरीलाई पक्षपाती रहेको आरोप लगाएकी थिइन्।

इजरायल-प्यालेस्टाइन द्वन्द्वपछि हालै बेलायतमा भएका प्रदर्शनहरुमा पनि प्रहरीले दोहोरो चरित्र देखाएको आरोप उनको थियो ।

विभागीय मन्त्रीले प्रहरीजस्तो संवेदनशिल निकायमाथि सार्वजनिक मिडियामा गएर आरोपमा उत्रिएको भन्दै मन्त्री ब्रेभरम्यानको चर्को आलोचना भएको थियो । उनको आलोचना गर्नेमा विपक्षी दलहरुदेखि उनकै दलका कयौं सांसद र नेतासमेत थिए। धेरैले उनलाई मन्त्रीबाट पदमुक्त गरिनुपर्ने आवाज पनि उठाएका थिए।  

प्रधानमन्त्री सुनाकले प्रारम्भिक रुपमा ब्रेभरम्यानमाथि ‘एक्सन’ लिने कुनै संकेत नदिएपनि विपक्षी र पार्टीभित्रै पनि चर्को दबाब आएपछि उनलाई हटाउने निर्णयमा पुगेका हुन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू