शनिबार, साउन १२, २०८१
05:42 | १०:२७

लन्डनमा मनाइयो देवकोटा जयन्ती

नेपाली लिङ्क नोभेम्बर ६, २०२३

लन्डन । बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले ११४औं महाकवि देवकोटा जयन्ती मनाएको छ । कवितावाचन, गीत-सङ्गीत प्रस्तुति र पुरस्कार प्रदान गरी देवकोटा जयन्ती मनाइएको हो ।

वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आयोजित समारोहमा प्रमुख अतिथी परिषद्का पदेन संरक्षक नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महाकविले नेपाली साहित्यमा नयां शब्दको उत्पत्ति र छन्द निर्माण गरेको चर्चा गरे ।

राजदूत आचार्यले महाकविले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुरयाएर ऐतिहासिक काम गरेको पनि जनाए ।

समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीई’ ले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि रहेका र उनले भाषा साहित्यको शिखर उच्च पारेको उल्लेख गरे ।

डा. धितालले देवकोटा शिक्षा मन्त्री समेत भइ अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका जनाए ।

डा. धितालले बेलायतमा भाषा साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न परिषद्ले गरेका प्रयास सराहनीय रहेका पनि बताए ।

परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाका कारण नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देश माझ गणना भएको बताए । शाहले महाकवि देवकोटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायत विश्वका अति विशिष्ट सिमित साहित्यकारमध्ये एक रहेको पनि चर्चा गरे ।

शाहले नेपाली भाषा साहित्यको समृद्धिमा परिषद्का साहित्यिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाएर राष्ट्रिय एकता र नेपाली पहिचानको भावना फैलाउन प्रोत्साहन पुरयाउने ब्रिगेडियर जनरल रत्न बहादुर गोदार र नेपालको चलचित्र क्षेत्रमा विगत चार दशकदेखि अविछिन्न अभिनय कलाद्वारा योगदान पुरयाएका वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेतलाई पुरस्कार प्रदान गरिएको पनि बताए ।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधि तीब्र गतिले अगाडि बढाउँदै आएको चर्चा गरे । अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरि उभिन सकेको चर्चा गरे ।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र संवर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको बताए ।

वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा गरे ।

समारोह आरम्भ गर्दै परिषद्का महासचिव वीरेन्द्र कुँवरले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने बताए ।

समारोहमा प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत आचार्यले सहायक रथी ज. रत्नबहादुर गोदार र वरिष्ठ कलाकार लक्ष्मणसिंह बस्नेतलाई एनएलडिसी विशिष्ट सम्मान प्रदान  गरे ।

राष्ट्रिय गान, महाकविको तस्विरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका पूर्व अध्यक्ष स्वर्गीय इश्वर मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको हालै निधन भएकोमा एक मिनेट मौन धारण गरी श्रद्धान्जली व्यक्त गरिएको थियो भने नेपालमा गएको भूकम्पमा परि धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको थियो ।

समारोहमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा एवं परिषद्का कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी र गीतारबाट मङ्गल धुन र महाकविका रचनामा धुन र गीतहरू प्रस्तुत गरे भने परिषद्का पूर्व अध्यक्ष कवि खगेन्द्र नेपाली र परिषद्का सल्लाहकार कवि कृष्ण भट्टले महाकवि देवकोटाका कविताहरू वाचन गरेका थिए ।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कविहरू हरिसिंह थापा, ध्रुव केसी, मदन थापा, मनोज अन्जान, कृष्ण भट्ट, कोमल मल्ल र सुरेशजङ्ग शाहले कविता वाचन गरे ।

समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले सहयोगीहरु प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’, डा. जनककुमारी धिताल, सल्लाहकार खगेन्द्र नेपाली, घनबहादुर थापा, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट,  पूर्व अध्यक्ष हरिसिंह थापा, देवकुमारी थापा, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, मदन थापा, कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, महासचिव वीरेन्द्र कुँवर, इन्दिरा कुँवर, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू