शनिबार, साउन १२, २०८१
02:54 | ०७:३९

लन्डनमा नेपालीले गरे १० के रन, दौडमा विदेशीसहित ३२० सहभागी

नेपाली लिङ्क नोभेम्बर ५, २०२३

लन्डन – बेलायतको इंग्ल्याण्ड एथलिटिक्समा दर्ता भएको क्लब ‘नेपाल रन यूके’ ले आइतबार लन्डन नजिक नर्थला पार्कमा ‘नर्थल्ट १० के’ रन गरेको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अल्ट्रा धाविका मीरा राईको विशेष आतिथ्यमा दौड भएको हो । कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई, एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे लगायतको पनि आतिथ्य थियो ।

‘रिमेम्बरेन्स डे’ को अवसर पारेर गरिएको १० किलोमिटर लामो दौडमा ३२० जनाले सहभागिता जनाए । दौडिनेमा नेपालीमात्र नभएर विदेशी पनि उल्लेख्य थिए ।

नर्थल्ट १० केमा इलियास अहमद ३२ मिनेट १५ सेकेन्डमा पुरा गरेर प्रथम भए भने महिला तर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा पुरा गरेर प्रथम स्थान हासिल गरिन् । त्यस्तै पुरुषतर्फ क्रमशः द्वितीय र तृतीय सिमोन सहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मा दौड समापन गरेका थिए ।

महिलातर्फ द्वितीय र तृतीय क्रमशः मान्दा गुरुङले ४४.४२ मा र क्लार मोरिसले ४६.३१ मा दौड समापन गरेका थिए ।

६० वर्ष बढी उमेर समूह सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर ३९.४० र लोराइन लेकेन्बीले ६०.५८ मिनेटमा दौड समापन गरेको जानकारी सचिव जगन कार्कीले दिए ।

४० देखि ६० वर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राज भण्डारीले ३४.१७ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए।

नेपाल रन क्लवका तर्फबाट प्रकाश गुरुङले ३५.१९ मिनेटमा प्रथम स्थान हासिल गरे भने तेज माया सिग्देलले ४७.२५ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरे । नेपाल रनको उत्कृष्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गरे ।

कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीय हुनेलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

समुदायमा स्वास्थ्य चेतना फैलाउन आयोजना गरिएको उक्त इभेन्टमार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ ‘फन्ड रेज’ पनि गरिएको थियो ।

नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रवर्धनमा पनि सहयोग पुगेको नेपाल रनका संयोजक पाण्डव महतोले जनाए । उनले सहयोगी सबैलाई धन्यवाद पनि व्यक्त गरे।

उक्त दौड कार्यक्रम संयोजन सन्तोष राईले गरेका थिए भने स्वयंसेवकहरुको संयोजन रविन्द्र अधिकारीले गरेका थिए।

संयोजक राईले सबै प्रायोजकहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबले अहिलेका कमीकमजोरी सुल्झाउदै आगामी वर्ष अझ प्रभावकारी गरि इभेन्ट गर्ने प्रतिवद्धता व्यक्त गरे।

नर्थल्ट १० केको प्रमुख प्रायोजकमा ए स्टार फाइनान्सियल सोलुसन्स यूके थियो। कार्यक्रमका सह-प्रायोजकहरुमा मेकवर्थ अकाउण्टिङ, ट्राभल कन्सोल, रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेन्ट, किरांत राई यायोख्या यूके, एसएनपी प्लस अकाउण्टिङ, आईएमई लण्डन, धरान समाज यूके, चित्रबहादुर गुरुङ लगायत थिए । नेपाल रन यूके क्लवका सदस्य स्वर्गीय दमन गुरुङको सम्झनामा वीनर मेल, वीनर फिमेल र स्पेशल ट्रफी तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रायोजन र वितरण गरेका थिए ।

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले नेपाली समुदायमा स्वास्थ्य सचेतना र तन्दुरुस्त रहन प्रेरित गर्ने कार्यक्रममा प्रमुख प्रायोजन गर्न पाउंदा गर्व लागेको बताए ।

अल्ट्रा धाविका मीरा राईले लन्डनमा नेपाली समुदायको दौडप्रतिको आकर्षण देखेर आफू निकै प्रभावित भएको बताइन् । उनले यस्ता खालका इभेन्ट नेपालमा समेत जरुरी भएको बताउंदै आफूले पहल गर्ने पनि बताइन् । तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू