शनिबार, साउन १२, २०८१
02:22 | ०७:०७

जाजरकोट भूकम्पपीडितका लागि रु १० करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

रासस नोभेम्बर ४, २०२३

काठमाडौँ, १८ कात्तिक– चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् । त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।

प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका छन् ।
भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू