शनिबार, साउन १२, २०८१
01:09 | ०५:५४

अर्थमन्त्री भेटेर आफ्ना मागप्रति उत्तरदायी भूमिका खेल्न भूपू गोर्खाहरुले गरे आग्रह

नेपाली लिङ्क नोभेम्बर १, २०२३

लन्डन । भूपूर्व ब्रिटिश गोर्खाहरुले समान पेन्सन लगायत मागहरुप्रति उत्तरदायी भूमिका खेल्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अनुरोध गरेका छन् ।

गत सोमबार नेपाली दूतावास लण्डनमा भूतपूर्व गोर्खा संघसंस्थाका प्रतिनिधिहरुले बेलायत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. महतसंग भेटघाटको क्रममा सो अनुरोध गरेका हुन् । 

बेलायत र नेपाल सरकार (जीटुजी) मन्त्रिस्तरिय वार्ता आउँदो नोभेम्बर २२ मा लन्डनमा हुने भएको छ । उक्त वार्तामा गोर्खाहरुले नेपाल सरकारलाई भूतपूर्व गोर्खा मागप्रति संवेदनशील भई प्रस्तुत हुन आग्रह गरे । 

सो भेटघाटमा मन्त्री डा. महतले गोर्खाहरुको समस्याबारे आफू, आफ्नो पार्टी नेपाली काँग्रेस र वर्तमान सरकार जानकार रहेको बताउँदै आफ्नोतर्फबाट सकारात्मक भूमिका खेल्ने आश्वासन दिए । साथै, उनले बेलायत भ्रमणकै क्रममा बेलायती मन्त्रीहरुसंगको बैठकमा समेत कुरा उठाउने जनाए ।  

नेपाली दूतावास लण्डनको विशेष पहलमा भएको भेटघाटमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति एवं वार्ता टोलीका सदस्य धर्म तामाङ, गेसो उपसभापति क्षेत्रकला राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, अभियान निर्देशक ज्ञानराज राई, सचिव होम किराँत सुनुवार, कोषाध्यक्ष विष्णु गुरुङ, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) अध्यक्ष केश बहादुर गुरुङलगायतको उपस्थिति थियो । -पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू